‘दशैंले त मन जोड्थ्यो, अहिले ती मनहरु टाढिए छन्’

  २०७७ कार्तिक ९ गते १०:३७     विकासन्युज

बलेवा । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए।

आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए ।

रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उनले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैंले त मन जोड्थ्यो”, उनले भने, “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।”

भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैंमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्मा बताउछन् । “पहिले पहिले दशैंमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।”

साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स-साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए ।

“व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भने, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।”

लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.