अन्तराष्ट्रिय व्यापारः निर्यात साढे १० प्रतिशतले बढ्यो, आयात २२ प्रतिशतले कम

  २०७७ कार्तिक ५ गते १५:५०     विकासन्युज

काठमाडौं । कोरोना महामारीको बीचमा नेपालको अन्तराष्ट्रिय व्यापारमा केही सकारात्मक संकेत मिलेको छ । चालु आर्थिक वर्षको भदौ महिनासम्मको तथ्यांक हेर्दा निर्यात बढेको छ भने आयात घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको साउन र भदौ महिनासम्मको तथ्यांकले निर्यात वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेको छ । सो अवधिसम्ममा १ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.