कोरोनाका कारण हटाइएका कामदारलाई व्यवसायीले फेरि बोलाए, भारतीय कामदार ल्याउन पहल थालियो

  २०७७ असोज २२ गते १५:५३     सन्ताेष राेकाया

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोनाको कारण देखाउँदै उद्योग प्रतिष्ठानहरुबाट हटाइएका कामदारहरुलाई फेरि बोलाउन थालेका छन् । कोरोना भाइरसकै कारण उत्पन्न लामो समयको लकडाउन र निषेधाज्ञापछि खुलेका उद्योग व्यवसायहरुमा कामदारको आवश्यकता परेपछि विभिन्न उद्योग प्रतिष्ठान तथा संघ संगठनहरुरले हटाइएको कर्मचारीरुलाई पुनः बोलाउन पहल थालेका हुन् ।

उनीहरुले विभिन्न संयन्त्रहरु प्रयोग गरेर कामदारहरु बोलाउन लागेका हुन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण चैत ११ गतेदेखि लकडाउन भएपछि बन्द अवस्थामा रहेका उद्योगधन्दा तथा कलकाखानाहरुमा कर्मचारीको आवश्यकता नभएपछि उद्योगी व्यवसायीहरुले आफ्नो उद्योगप्रतिष्ठान तथा कलकारखानाबाट श्रमिकहरुलाई हटाएका थिए ।

अहिले कोरोनाको महामारी कायमै भएपनि विस्तारै उद्योगधन्दाहरु सञ्चालन गर्न सरकारले अनुमति दएिपछि उद्योगधन्दा, कलकारखाना तथा निर्माण सम्बन्धि काम सञ्चालन हुन थालेका छन् । त्यसैले पनि व्यवसायीहरुले विभिन्न संयन्त्रहरु प्रयोग गरी श्रमिकलाई बोलाउन शुरु गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिले सरकारले उद्योग कलकारखाना तथा निर्माण सम्बन्धि काम सञ्चालन गर्न अनुमति दिएपनि विभिन्न कारणले काम हुन नसकेको बताए ।

उनले मुख्य कारण श्रमिकको रहेको बताए । कोरोना भाइरसको कारणले कामदारहरु घर फर्किसकेकोले उद्योग प्रतिष्ठान तथा पूर्वाधार निर्माणमा कामदारको अभाव देखिएको बताए । ‘हाम्रो उद्धेश्य स्वदेशी कामदारलाई रोजगार दिने हो, तर त्यसमा दक्षताको विषय आउँछ, दक्ष कामदार नभएकै कारण पनि काम नभएको हुन सक्छ,’ उनले भने ।

उनका अनुसार अहिले उद्योग प्रतिष्ठानमा कामदारहरुको अभाव देखिएको छ । कामदार नभएकै कारण सन्तोषजनक काम हुन नसकेको उनको भनाई छ । यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले पनि कामदारको अभाव हुँदा अहिले निर्माण सम्बन्धि काम हुन नसकेको बताए ।

उनले निर्माण सम्बन्धि काम निर्वाध रुपमा गर्नको लागि सरकारलाई डेलिगेसन पनि पठाएको बताए । ‘अहिले स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गरेर काम गर्न पनि समस्या नै छ, कामदार पनि छैनन्, कामदारको पुर्तिका लागि पनि हामीले भौतिक मन्त्रालयलाई पत्र पठाएका छौं,’ उनले भने ।

उनले कामदारकै अभाव भएकोले अहिले निर्माण तर्फ कूल १० प्रतिशत मात्र काम हुन सकेको बताए । उनले भारतीय कामदारलाई नेपाल भित्र्याउनका लागि सहज वातावरण गर्न सरकारसँग आग्रह पनि गरेको बताए ।

अहिले उद्योग व्यवसायहरु विस्तारै सामान्य किसिमले सञ्चालन हुँदै गएपछि विभिन्न संघ संगठनहरुले सरकारलाई भारती कामदारलाई नेपाल आउन दिनको लागि सहजिकरणको व्यवस्था गर्न भनेर आग्रह पनि गरिरहेका छन् ।

हिजो मात्रै उद्योग वाणिज्य संघ कैलालीले स्वास्थ्य मापदण्ड अपनाएर भारतीय कामदार भित्रिन दिन सरकारसँग माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई संघले ज्ञापनपत्र दिँदै भारतीय कामदार भित्र्याउन पाउनुपर्ने आग्रह गरेका हुन् ।

कामदार नहुँदा व्यवसाय गर्न कठिन भएको भन्दै संघले ज्ञापन पत्र नै बुझाएर कामदार आउन पाउनु पर्ने माग राखेका हुन् ।
नेपाली कामदार भने भारतकै भरमा

नेपाली उद्योगी व्यवसायीहरुले नेपालमा काम गर्ने श्रमिकको अभाव भइरहेको बताइरहँदा नेपाली कामदार भने दैनिक भारततर्फ गइरहेका छन् । कोरोना भाइरसको कारण स्वेदश फर्केका उनीहरु अहिले स्वेदशमा काम नपाएपछि दैनिक भारततर्फ जानेको भिड लाग्न थालेको हो ।

अघिल्ला वर्षहरुमा दशैं नजिकिँदा स्वदेश फर्किने उनीहरु अहिले दशैंको नजिकमै काम खोज्न भारत तर्फ गइरहेका छन् । अहिले दैनिक भारत जानेहरुको नाकामा भिड नै लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.