सरकारको सहुलियत पसलः चिनीमा ६, चामल ५, सिमी र मासु प्रतिकेजी १० रुपैयाँ छुट

  २०७७ असोज १४ गते १७:२६     विकासन्युज

काठमाडौं । सरकारले भोलि (असोज १५ गते) देखि सहुलियत पसल सुरु गर्ने भएको छ । दशैं तिहार तथा छठ जस्ता ठूला चाड तथा पर्वलाई लक्षित गर्दै सरकारी संस्थान तथा कम्पनीहरुले विक्री गर्ने दैनिक उपभोग्य वस्तुमा प्रतिकेजी १० रुपैयाँसम्म छुटमा विक्री गर्न लागिएको छ ।

साल्ट ट्रोडिङ कर्पाेरेसनले विक्री गर्ने चिनीमा प्रतिकेजी ६ रुपैयाँ छुट दिन लागिएको कर्पाेरेसनका डिभिजनल म्यानेजर बृजेश झाले जानकारी दिए । अहिले बजारमा ९० रुपैयाँभन्दा बढीमा चिनी विक्री हुने गरेको भएपनि कर्पाेरेसनले भने ७६ रुपैयाँ प्रतिकेजीमा विक्री गर्दै आएको थियो । चाड पर्व लक्षित सहुलियत पसलमा भने चिनी प्रतिकेजी ७० रुपैयाँमा नै पाइनेछ ।

कर्पाेरेसनले नै बेच्ने नुनमा पनि मूल्य घटाइएको छ । अहिले प्रतिप्याकेट २० रुपैयाँमा विक्री हुँदै आएको नुन सहुलियत पसलबाट प्रतिप्याकेट १८ रुपैयाँमा विक्री गरिने झाले जानकारी दिए ।

सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विक्री गर्ने वस्तुको मूल्य पनि घटाइएको छ । खाद्यले विक्री गर्ने सबै प्रकारका चामलमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको कम्पनीका सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

यस्तै, खाद्यले विक्री गर्दै आएको कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ छुट दिन लागिएको छ । अहिले कर्णालीको सिमी प्रतिकेजी १२० रुपैयाँमा विक्री हुँदै आएको थियो । यस्तै खसी तथा च्यांग्राको विक्रीमा प्रतिकेजी १० रुपैयाँ नै छुट दिन लागिएको छ । यद्यपि मासुको मूल्य भने खाद्यले निर्धारण गरिसकेको छैन ।

मासुको मूल्य निर्धारण भइसकेपछि निर्धारित मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिइने न्यौपानेले जानकारी दिइन् । साल्ट ट्रोडिङले विक्री गर्ने चामल, दाल, गेडागुडी, खाने तेल, मसला जस्ता वस्तुमा विशेष छुट प्रदान गरिएको कर्पाेरेसनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.