अनुगमन टोली देख्ने बित्तीकै किन भाग्छन् व्यापारी ?

  २०७७ असोज ९ गते १४:४२     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै छ । कोरोना भाइरसका संक्रमित दैनिक बढ्दै गएपनि बजारकमा मानिसहरुको चहलपहल पनि उत्तिकै बढ्न थालेको छ । दशैं नजिकिँदा आफुलाई आवश्यक पर्ने सामान र लत्ता कपडा तथा दैनिक तरकारी फलफूलहरु किन्ने मानिसहरुको भिड पनि बजारमा बढ्दै गएको छ ।

यही समयमा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा तीव्रता दिएको छ । चाडपर्व नजिँदै गर्दा उपभोक्ता तथा सर्वसाधारणहरु बढी ठगीने कूरालाई मध्येनजर गर्दै विभागले अहलिे दुई तीन वटा समूह बनाएर बजार अनुगमनमा तीव्रता दिएको हो ।

विभागले बजार अनुगमनलाई प्रभावकारी रुपमा गर्दा धेरै व्यापारीहरु चिन्तितमा बनेका छन् । दैनिक उपभोक्ताहरुबाट महँगो मूल्यमा सामान बिक्री गर्ने, म्यानद नाघेका, अर्थात गैर कानुनी रुपमा व्यवसाय गर्दै आएका व्यापारीहरुलाई वाणिज्य विभागको टोलीले अनुगमन गरेर जरिवाना गर्दै आएको छ ।

विभागले अनुगमनलाई तीव्रता देखाएसँगै अनुगमनमा खटिएकाहरु देख्ने बित्तिकै व्यापार छोडेर नै हिड्ने गरेको बताएकाे छ । वाणिज्य विभागको अनुगमन टोली पुगेपछि सोमबार नक्सालस्थित तरकारी बजारका ब्यापारीहरुको भागाभाग भएको छ।

बजार अनुगमनका लागि आएको टोली पुगेको सुनेर नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटा नै भागेका हुन्। यसैगरी आलु र प्याजका अर्का व्यापारी किशोर पासवान पनि अनुगमन टोली पुग्दा पसल खुल्लै छोडेर भागेका थिए।

तरकारी बजारका अध्यक्ष समेत रहेका सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेजको नाममा दर्ता भएको पसल खुल्लै छोडी उनी भागेका थिए। सहि काम गरेको भए किन भाग्नु पर्याे ? अनुगमन टोलीमा रहेका माधव तिमिल्सिनाले भने।

अहिले दैनिक अनुगमन टोली देखेर धेरै ठाउँमा ब्यापारीहरु व्यापार खुला नै छोडेर भाग्ने गरेका छन् । अहिले प्याजमा बढी कालोबजारी भइहरेको छ । तरकारी ब्यापारीहरुले प्याजमा कालोबजारी गर्दै आएका छन् ।

आज (शुक्रबार) मात्रै धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडरे भागे । आलु र प्याज बेच्दै आएका व्यापारीहरु अनुगमन टोली देख्ने बित्तिकै पसल नै खुला छोडेर भागेका हुन् ।

‘त्यहाँ तरकारी बेच्ने ९ वटा पसल छन् । तीमध्ये १ र २ नं. स्टलका व्यापारी थिए । बाँकी पसलमा थिएनन् । बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । स्टल २ का व्यापारी बद्री शिवाकोटीले भने, ‘ठूला व्यापारीले गलत गरे होलान् समस्या हामी साना व्यापारीलाई हुन्छ ।’

‘अनुगमन टोली आएको खवर सुनेर पसलबाट व्यापारी हिँडे, पसल छोडेर गए पनि पङ्खा चलिरहेका थिए, पूजा गर्दा बालेको बत्ती निभेकै थिएन,’ उनले भने ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए । अनुगमन शुरुवात भएपछि क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालेको उनको भनाई छ ।

बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत सबै खानेकुरामा ढुसी र ओस आएको थियो । मैदामा चिल्याँसा परेको थियो । त्यहाँबाट जारी बिलमा ठेगाना बल्खु लेखिएको थियो । पसलमा व्यापार गरिरहेकी धनमाया बलामी भनिन्, कालो दाल भर्खर ल्याएको, यो दालमा ल्याउँदै कीरा थियो । कालो दालमा मात्र होइन, अरुमा पनि कीरा छ त? प्रश्नको उत्तरमा उनले भनिन् — एउटाबाट फिँजियो होला ।’

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलो मैदा, ४५ केजी आटा, १० केजी सोयाबिन बरामद गरेको छ भने कीरा देखिएको ७० केजीमासको दाल, ९० केजी अरहरको दाल बिक्री रोक्का गरेको छ । अनुगमन टोलीले आजै भाटभटेनीको चुच्चेपाटीस्थित प्याकेजिङ् स्थलको पनि अनुगमन गरेको छ ।

यस्तै, अनुगमन टोलीले सोमबार तरकारीको भाउबारे सोधपुछ गर्दा नक्सालका धेरै व्यापारीहरु भागेका थिए पछिल्लो समय विभागले दैनिक तीन चार वटा टीम बनाएर बजार निस्कने गरेको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

उनले चाडपर्व नजिकिँदै गर्दा व्यापारीहरुले उपभोक्तालाई ठग्ने प्रवृति बढ्न सक्ने भएकोले अनुगमनमा तीव्रता दिएको बताए । उनका अनुसार दैनिक २ लाखदेखि ४÷५ लाख रुपैयाँ सम्म पनि अनुगमन टोलीले जरिवाना उठाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.