सहकारीको सन्दर्भ व्याजदरपछि सेवा शुल्कमा अंकुश

  २०७७ असोज ७ गते १२:५३     विकासन्युज

काठमाडौं । सरकारले हालै सहकारी संस्थाहरुका लागि गत वर्षको भन्दा १.२५ प्रतिशत कम व्याजदर तोकेर नयाँ व्याजदर निर्धारण गरेपनि त्यो कार्यान्वयन हुनेमा धेरैले शंका गरेका छन् । गत वर्ष १६ प्रतिशत निर्धारण गरेकाे व्याजदर यस वर्ष १.२५ प्रतिशत कम गरेर १४.७५ प्रतिशत कायम गरेकाे छ ।

सर्वसाधारणहरुले सहकारीहरुले व्याजदरमा कागजमा एउटा र ब्यबहारमा अर्कै ब्याजदर लिने गुनासो आएको बेला सहकारी विभागले त्यस्ता सहकारीहरुलाई तत्कालै कारबाही गर्ने  पनि जनाएको छ ।

सहकारीहरुले सरकारले तोकेको व्याजदर सँसँगै थप सेवा शुल्क लिएर ऋणीलाई चर्काे ब्याजदर तिर्न बाध्य बनाउने गुनासो बेला बखत आउने गरेकोले अब विभागले चाँडै नै निश्चित सेवा शुल्क तोक्ने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताए ।

उनका अनुसार सहकारी विभागले सहकारीहरुका लागि निश्चित सेवा शुल्क तोक्ने तयारी भइरहेकाे छ । पाण्डेले विभागले सहकारी संस्थाहरुले लिने सेवा शुल्क तोक्नका लागि काम अगाडि बढ्ने बताएका हुन् ।

सहकारी पत्रकार समाजले बुधबार सहकारीमा सन्दर्भ ब्याजदर सम्बन्धि गरेकाे भर्चुअल बहसमा पाण्डेले बजारमा सहकारीहरुले ब्याजदर र त्ययसैमा थप सेवा शुल्क वाफत पनि बढी लिने गरेको गुनासो आइरहेकोले चाँडै नै सहकारीका लागि सेवा शुल्क तोकिने बताए ।

सहकारीले बढी सेवा शुल्क लिएको गुनासोको जवाफ दिँदै उनले भने,‘ हामीलाई पनि सहकारीहरुले बढी सेवा शुल्क लिएको गुनासोहरु आउने गरेका छन्, त्यसलाई हामीले गम्भीरताका साथ हेरेका छौं, चाँडै नै हामीले निश्चित सेवा शुल्क तोक्ने छौं, त्यसपछि त्याे समस्या समधान भएर जान्छ ।’

यस्तै, उनले हाल सहकारीहरुका लागि तोकिएको १४.७५ प्रतिशत व्याजदर कार्यान्वयन हुनेमा आफु ढुक्क भएको बताए । कुनै सहकारीले कार्यान्यवन नगरे तत्काल कारबाही गर्ने समेत उनले बताए ।

यो व्याजदर लागू नगर्ने सहकारीलाई कारबाही गरेरै छाड्ने उनको भनाई छ । गत वषको व्याजदर पनि कार्यान्वयन भएको दावी गर्दै उनले भने, ‘व्याजदर कार्यान्वयनमा गएन भन्नु गलत हो, कसैले कार्यान्वयन गरेका छैन भने हामीलाई त्यस्ता संस्था देखाउन आग्रह दिन्छु, मैले कारवाही गर्न सकिनँ भने सरुवा गरिदिन आग्रह गर्छु ।’

विगतमा सन्दर्भ व्याजदर कर्यान्वयन नगरेको दुई सहकारीलाई कारबाही गरेको बताउँदै फेरि त्यस्ता सहकारीबारे विभागलाई जानकारी दिन पनि उनले आग्रह गरेका छन् ।

उनले सहकारी ऐन र नियमावली व्यवस्था अनुसार सन्दर्भ व्याजदर कार्यान्वयन गरिएको समेत बताए ।
उनले सन्दर्भ व्याजदर सबैसँग छलफल अन्तक्रिया गरेर नै निर्धारण भएको बताए ।

‘यो व्याजदर हुनु भनेको समग्र सहकारीका सेयर सदस्यले जित्नु हो, सरकारले तोकेको सिलिङ भन्दा पनि तल आएर ब्याजदर तोक्न सफल भएका छौं, साधारण सदस्यको हितमा यो काम भएको छ,’उनले भने ।

यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले अब सहकारी ऐननै संसोधन गरेर  आधार दर तोक्नु पर्ने बताए । उनले कम्तिमा लघुवित्तको भन्दा पनि कम ब्याजदर कायम गरिनुपर्ने बताए ।

तोकिएको यस्तो व्याजदर आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ । ऋण र बचतको व्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको हाे ।

अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम व्याजदर पुनरावलोकन गरिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको गठन भएको थियो । सो समितिको पहिलोे बैठक गत साउन ६ गते बसेको थियो । त्यसपछि समितिका थप ४ बैठक तथा प्राविधिक उपसमितिको २ वटा वैठक सम्पन्न भई ऐन तथा नियमावलीको व्यवस्था बमोजिम ब्याजदर निर्धारण भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.