कापी र कलम युगको अन्त्य

  २०७७ असोज ६ गते १३:१९     रामकृष्ण पौडेल

कोरोना महामारीपछि कलम र कागजको प्रयोग ह्वात्तै घटेको छ । मेरो अनुभवमा कलमको अन्तिम प्रयोग हस्ताक्षरमा हो । चैतमा लकडाउन भएपछि चेकमा हस्ताक्षर गर्ने काम ९५ प्रतिशतले घटेको छ । सबै प्रकारका भुक्तानी इबैकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस वा विभिन्न वालेट मार्फत हुन्छ । तलबदेखि भ्याटसम्म, टेलिफोनदेखि घरभाडासम्म, कर्जाको किस्तादेखि बीमा शुल्कसम्म सबै प्रकारको भुक्तानी डिजिटल माध्यमबाट गर्न अभ्यस्त भइयो । चेकको कारोबार शुन्यतर्फ झर्दैछ ।

लकडाउनकै बीचमा मालपोत कार्यालय र कम्पनी रजिष्ट्रार कार्यालयमा नगद कारोबार गर्नुपर्यो । चौर औलामा थुक लगाएर नोट गन्ने अभ्यासमा हुर्केका केही नेपाली अझै डिजिटल पेमेन्टमा विश्वास गर्दैनन् । उनीहरु सकेसम्म नगद, नभए चेक नै माग्दछन् । यस्ता अपवाद बाहेक चेकमार्फत कारोबार हुन छोड्यो । चेकमा हस्ताक्षर नगरी डिजिटल माध्यमबाट आर्थिक कारोबार हुन थालेपछि हस्ताक्षर गर्न पनि कमल चाहिएन ।

चेकमा हस्ताक्षर गर्न समेत कलमको आवश्यकता नपर्नु भनेको कलम र कापी (कागज)को युगको अन्त्यको संकेत हो ।

आफ्नै दोस्रो अनुभव । दुई दशक अघिदेखि म कलमजीवी । समाचार लेखेरै आफू र आफ्नो परिवार चलाउँदै आएको छु । २०५८ सालमा जन्मभूमि पत्रिकामा समाचार लेख्दा कलम र कापी (प्रिन्ट पेपर)को विकल्प थिएन । समाचार लेख्नको लागि यति धेरै कलम धसियो कि कलम समाउने माझी औंलाको कापमा ठेला उठ्थ्यो, नाडी गल्थ्यो ।

२०६१ सालमा कम्प्यूटर किनेपछि रिपोटिङ डायरीमा टिपोट गर्न मात्र कमल र कापीको प्रयोग हुन थाल्यो । समाचार लेख्न कमल थिच्न छोडेर किबाेर्ड दबाउन थालियो । लेखेरभन्दा टाइप गरेर समाचार लेख्न, सच्याउन, परिमार्जन गर्न सजिलो र छिटो हुँदै गयो । सम्पादकलाई सम्पादन गर्न पनि धेरै सजिलो भयो ।

समयले कोल्टे फेर्यो । कलमले कागजमा सामाचार लेख्ने तर टाइप गर्न नजान्ने पत्रकार बेरोजगार बन्दै गए । समाचार टाइप गर्ने टाइपिष्ट पेशाको अन्त्य भयो । यतिबेला कुनै पनि सञ्चार माध्यमले कलमले लेखेर दिने लेखकको लेख पनि प्रकाशन गर्दैनन् । अबको त्यो पत्रकार मात्र प्रतिस्पर्धामा टिक्न सक्छ, जो मैदानमा रिपोर्टिङ गर्दा मोबाइलमा टाइप गरेर तुरुन्त सम्पादकलाई इमेल गर्न सक्छ । न्युज ब्रेक गर्नको लागि त भ्वाइस टाइप एप प्रयोग गर्नुको विकल्प हुँदैन । रिपोर्टरको डायरी अब इतिहासको पानामा सीमित हुनेछ, व्यवहारमा अन्त्य हुँदैछ ।

लेखक

सहकर्मी नबिन पोखरेलसँगको करिब २ वर्ष अगाडिको एउटा घटना मलाई अझै पनि ताजै लाग्छ । त्यो बेला उनले राजनीतिशास्त्रमा कलेज टप गरे । अबिरले रातिएका, पदक र खादाले सजिएको, फ्रेमसहितको प्रमाणपत्र लिएर खुशी साट्न कार्यकक्षमा प्रवेश गरे । मैले बधाई दिएँ । खुशीले गदगद भइयो ।

त्यो क्षणमा मैले मजाककै रुपमा उनलाई प्रश्न सोधेँ । ‘राजनीतिशास्त्र जस्तो भाषिक रुपमा धेरै लामो उत्तर लेख्नु पर्ने विषयमा कलेज टप गर्नुभयो । तर तपाईले लेख्ने समाचारमा भाषा उत्कृष्ट छैन, किन ?’

उनको जवाफ सटिक आयो । ‘मैले नर्सरी देखि १२ कक्षासम्म १५ वर्ष ह्यण्डराइटिङ कसरी राम्रो बनाउने भनेर मिहेनत गरे । सिकाउनेले पनि जहिले पनि ह्याण्डराईटिङ राम्रो हुनुपर्छ भनेर सिकाए । तर जब म पहिलो जागिरको लागि अन्तरवार्तामा गए, तब मलाई पहिलो प्रश्न सोधियो, टाइप गर्न आउँछ ? मैले टाइप गर्न आउँदैन भनेर जवाफ दिनुपर्यो ।’

१५ वर्ष ह्याण्डराइटिङमा गरेको मिहेनत काम नलागेको उनको निष्कर्ष रह्यो । कम्युटरसँग फेमिलियर भएर समाचार सामग्री बनाउन धेरै महिना लाग्याे । उनका लागि मात्र होइन, परम्परागत शिक्षण विधिबाट स्कूल कलेज पढेको सबै नेपाली विद्यार्थीले भोग्नु पर्ने अवस्था यहि हो ।

गोल्डेनगेट इन्टरनेशनल कलेजका भाइस प्रिन्सिपल रोहित पौडेलसँग अर्को त्यस्तै अनुभव रहेछ । अमेरिकाबाट इन्जिनियरिङ पास गरेर नेपाल फर्केका एक विद्यार्थी इएमबीए गर्न गोल्डेनगेट कलेज भर्ना भएछन् । रोहितले ती विद्यार्थीलाई फाइनान्सियल एनालाइसिस् एण्ड रिपोटिङ पढाउँदै थिए । उनले विद्यार्थीलाई कापीमा लेखेर प्रिजेन्टेशन बनाउन भने । तर ती विद्यार्थीले लेख्न नआउने बताए । त्यसपछि भाइसप्रिन्सिपललाई ज्ञान भयो नेपाल र अमेरिकाको शिक्षण पद्धतिमा कति फरक रहेछ ।

माथिका दुई उदाहरणप्रति विद्यार्थीहरुको पठनपाठन सक्रिय शिक्षक, शिक्षिका, शिक्षण प्रणालीको विकास र सञ्चालन गर्ने हाम्रा नीति निर्माता र निर्णयकर्ताहरु गम्भिर हुनै पर्छ । दुनियाँले आत्मसाथ गर्नुपर्छ-आजको दिनमा लेख्न आउँदैन भन्नेले जागिर पाउँछ तर टाइप गर्न आउँदैन भन्नेले जागिर पाउँदैन । वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि सरकारी बैंकमा जागिर खाएर अवकाश हुने उमेरमा पुगेकाले पनि टाइप सिक्नु पर्यो । बुढेसकालमा टाइप सिक्दिन भन्नेले जागिर छोडेर घर बस्नुपर्यो ।

तर हाम्रो शिक्षण विधिमा टाइपले ठाउँ पाएन । बाध्यताले अनलाइन कक्षा सञ्चालन गर्ने स्कूल कलेजहरुले अहिले पनि विद्यार्थीलाई कापीमा लेखेर फोटो खिचेर सेन्ड गर्न लगाउँछन् । फेजआउट भइसकेको कापी कलम स्कूल कलेजहरुले घिटीघिटी चलाईरहेका छन् । अझै विद्यार्थीहरुलाई टाइप गर्न सिकाइरहेका छैनन् । कम्प्यूटरबाट परीक्षा दिने प्रणालीमा अझै काम भएको छैन । अनलाइन कक्षा सञ्चालनलाई समेत निरुत्साहित गर्ने प्रतिगामी सरकारले अनलाइनबाट परीक्षा दिन पाउने प्रणालीको विकास गर्ला भनेर अपेक्षा गर्न पनि कठिन छ ।

काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर बहादुर खुलालले काठको फल्याकमा माटो राखेर छेस्काले कोर्दै अक्षर चिनेको उनका विद्यार्थीलाई कथा सुनाए जस्तो लाग्छ । तर २०३० सालमा खुलालले त्यसरी नै क, ख, ग लेखेका थिए । चिनेका थिए ।

खुलालले अक्षर चिन्दा ४६ वर्षअघि जुन विधि प्रयोग भएको थियो, अहिले त्यो विधि धेरै पुरानो भयो । काठ र माटोको सहारामा लेखिने पढिने विधि जसरी इतिहासको पानामा सीमित हुँदै गयो, अब कलम र कापीको माध्यमबाट हुने सिकाई पनि इतिहासको पानामा मात्र सीमित हुँदैछ । कोभिड-१९ महामारीपछि त्यसको प्रष्ट संकेत देखिन थालेको छ । नानीबाबुहरु स्कूल नदेखी, टिचरलाई नभेटी, कलम र कापी नसमाई पढ्न थालेका छन् ।

अबको ४/५ दशकपछि कपाल फुलेका टिचरहरुले साना बाबुनानीलाई पढाउँदा कलम र कापीको बारेमा इतिहास पढाउने छन्, कलम समाउन र कापीमा लेख्न सिकाउने छैनन् । त्यतिबेला छापिएका किताबहरुको अस्तित्व रहन्छ नै । तर जसरी मोबाइलको आगमनसँगै समयको लागि घडीको आवश्यकता रहेन, शौखको लागि घडीको प्रयोग भइरहेको छ, त्यसरी नै शौखिन व्यक्तिले गोजीमा महँगा कलम भिर्लान् । जसरी हिमालयन बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ५५ हजार रुपैयाँ पर्ने कलम बोक्छन् तर त्यसको प्रयोग हस्ताक्षर गर्न मात्र प्रयोग हुन्छ । विद्यार्थी तहमा कापीको प्रयोग त शुन्य नै हुनेछ ।

हरेक महामारीसँगै मानिसको आनीवानी तथा जीवन शैलीमा ठूलो परिवर्तन आउने छ । इतिहासले देखाएको छ जब ठूला संकटहरु आएका छन्, तब मानिसको जीवनशैली उन्नत हुँदै गएको छ । कोभिड महामारीपछि स्कूल कलेजको पढाई भर्चुअल माध्यमबाट हुन थाल्नु, बैठक, सभा, सम्मेलन भर्चुअली हुनु प्रारम्भिक परिवर्तन हुन् । यस्ता परिवर्तन धेरै ठाउँमा देखिन थालेको छ । बैंकिङ कारोबार, बीमा कारोबार, पुँजीबजार कारोबार पूर्ण रुपमा डिजिटल्ली हुन थालेका छन् । सामान्य किराना पसलदेखि डेरीसम्मले क्युआर कोडबाट रकम भुक्तानी लिन थालेका छन् । सूचनाको लागि अनलाइन न्युजपोर्टलको प्रयोग बढेको छ । सेवा, व्यापार तथा उत्पादन सबै क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ । जुनसुकै क्षेत्रमा पनि कलम र कापीको प्रयोग कम हुँदै गएको छ । यूराेपमा सन २०१६ देखि निरन्तर पेपरकाे खपत घट्नुले पनि प्रविधिकाे प्रयाेगसँगै कागजकाे प्रयाेग घट्दै जाने प्रष्ट संकेत दिएकाे छ ।

आम मानिसले सञ्चारको लागि फोन, इमेल, म्यासेन्जर, भाइवर, ह्वाटस्एप प्रयोग गरे पनि अझै हुलाक बन्द नभए जस्तै केही समय कलम र कापीको प्रयोग होला, त्यो पनि स्कूल, कलेज तहमा । तर व्यवहारिक जीवन, व्यवसायिक जीवनमा कलम र कापीको प्रयोग व्यापक रुपमा घट्दै जाने निश्चित छ । साथै, अबकाे शिक्षण विधि गुगलकाे प्राेफेशनल एजुकेशन जस्तै हुनुकाे विकल्प छैन, जहाँ कलम र कापीकाे प्रयाेग शुन्य छ । पढेपछि कामकाे सुनिश्चितता हुनैपर्छ । कम समयमा र कम लागतमा उच्च शिक्षा गर्न सकिने र त्याे पढाइ प्रविधिमैत्री हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.