जति धेरै बीमा गरेपनि दाबी एउटा मात्र

  २०७७ असोज ४ गते १९:४७     विकासन्युज

काठमाडौ । एक जनाले दुई वा धेरै ठाउँबाट कोरोना बीमा गराए पनि दाबी भुक्तानी भने एक ठाउँबाट मात्रै पाइने नेपाल बीमक संघले जनाएको छ । पछिल्लो समय कोरोना बीमा गराउने एकै जना बीमितले विभिन्न ठाउँबाट बीमा गरी दाबी भुक्तानीको माग गरेकोमा गम्भिर ध्यानाकर्षण भएकाे जनाउँदै संघले काेभिड बीमा दावी भुक्तानी एक ठाउँबाट र एक जनाले एक पटक मात्र लिन सक्ने बताएकाे छ ।

पछिल्लो समय एउटै व्यक्तिले विभिन्न ठाउँबाट भुक्तानी लिने प्रयास गरिरहेकाे बीमक संघका महासचिव एवम् सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । एकजना बीमितले आफू आवद्ध विभिन्न कम्पनी तथा संघ संस्थाबाट कोरोना बीमा गराउने र पीसीआर पोजेटिभ देखिएको अवस्थामा एउटै बीमाका लागि विभिन्न कम्पनीहरुमा धाउने क्रम बढेको क्षेत्रीको भनाई छ ।

एक ठाउँमा बीमा गराएका बीमितले त्यही बीमा अर्को कम्पनीमा गराउँदा दोहोरो लाभ पाउन नसक्ने उनले बताए । एउटै बीमा लेखका लागि २ ठाउँमा बीमाशूल्क बुझाए पनि बीमाले एउटा कम्पनीबाट मात्रै भुक्तानी गर्ने र त्यसका लागि एकद्धार प्रणाली समेत लागू भएको उनले बताए । एउटै बीमितले दुईतर्फी बीमा दाबी माग गर्नु गैर कानुनी र दण्डनीय काम भएको उनले बताए ।

विभिन्न संघ संस्थाले सदस्य तथा ग्राहकको कोरोना बीमा गराई रहेकोले दोहोरिने सम्भावना बढिरहेको जानकारहरु बताउँछन् । यसरी संस्थागत रुपमा हुने बीमामा अधिकांश बीमित आफैले बीमाशूल्क बुझाउँदैनन् । अहिले कोरोना बीमाको दावी भुक्तानीमा जानकारहरुले नै बढी पैसा धुत्ने प्रयत्न गरेको उनले बताए । यस्तो जोखिम प्रति बीमा कम्पनी सचेत भई एकद्धार प्रणाली लागू गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.