भ्रष्टाचार नियन्त्रणमा रक्षक नै भक्षक

  २०७७ भदौ २२ गते ११:३७     राजेन्द्र प्रसाद अवस्थी

नेपालमा परापूर्व कालदेखि नै कुनै न कुनै स्वरुपमा भ्रष्टाचार हुने गरेको थियो भन्ने कुरा पृथ्वी नारायण शाहको ‘घुस लिन्या र घुस दिन्या देशका महान शत्रु हुन्’ भन्ने भनाइबाट पुष्टि हुन्छ । तर पछिल्लो समय हाम्रो राजनीतिक चरित्र र प्रवृत्ति पनि भ्रष्टाचारजन्य गतिबिधिको सेरोफेरोमा रुम्मलिन थालेको छ । यतिखेर राजनीतिक दलहरु भ्रष्टाचारलाई संस्थागत गराउने संस्था वा सहयोगीका रुपमा खडा हुन थालेको आभास भइरहेको छ ।

समाजमा राजनीतिक एवम् प्रशासनिक नेतृत्वले भ्रष्टाचारजन्य कार्यमा संलग्न र भ्रष्टाचार गर्ने विषयमा मौन रहने हो भने भ्रष्टाचार नियन्त्रणको नारा केबल शब्दमा मात्र सीमित रहने छ । यसकारण सर्वप्रथम नेतृत्वकर्ता सही हुनु जरुरी छ । विशेषगरी लोकतान्त्रीक शासन व्यवस्था कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने भनेर लामो राजनीतिक लडाई लडेका राजनीतिक दल र यिनका नेताहरु नै भ्रष्टाचार र अनैतिक कार्यहरुमा नाइके बन्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । यसले समाजमा दल र तिनका नेताहरु भनेका भ्रष्टाचारका मतियारहरु हुन भन्ने कुरा स्थापित गराइरहेको छ ।

भ्रष्टाचार राणाको पालामा पनि थियो । पञ्चायतमा पनि थियो तर माथिल्लो तहको डर थियो । त्यस समयमा भ्रष्टाचार र अनैतिक कार्य गर्नेलाई सर्वस्व हरण गर्ने, देश निकाला गर्ने, चारपाटे मुड्ने,जात च्युत गर्नेसम्मका कारबाही हुन्थे । दरबारको डर र त्रासका कारणले अहिले जस्तो खुले आम भ्रष्टाचार र अनैतिक कार्य गर्ने आँट जो कोहिमा हुदैनथ्यो । तर २०४७ पछि भ्रष्टाचारले संस्थागत रुप लिएको राजनीतिक तह र प्राशासनिक तहमा रहेका व्यक्तिहरुबाट भ्रष्टाचारबाट मुछिएको प्रष्ट हुन्छ ।

विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने भनेर लामो राजनीतिक लडाईँ लडेका राजनीतिक दल र यिनका नेताहरु नै भ्रष्टाचार र अनैतिक कार्यहरुमा नाइके बन्ने घटनाहरु सार्वजनिक भइरहेका छन् ।

वास्तवमा भ्रष्टाचारको कुनै जात, रङ्ग, आकार, धर्म,वर्ग, दल वा क्षेत्र हुँदैन भन्ने कुरालाई जीवनभर नागरिक अधिकार र स्वतन्त्रताको लागि लडेका दल र तिनका नेताहरुले प्रमाणित गर्न खोजेको अनुभव भइरहेको छ । यसै कारण भ्रष्टाचारको मुल जरोको रुपमा राजनीतिलाई लिन थालिएको हुन सक्छ । राजनीतिक नेतृत्वले यो दोष मेटाउन पनि सकिरहेका छैनन् ।

यतिबेला राजनीतिक नेतृत्व जनताका नजरमा रक्षक नभई भक्षक जस्ता भएका छन । राजनीतिलाई भ्रष्टकृत बनाउनमा कर्मचारीतन्त्रको भूमिका पनि त्यत्तिकै रहेको छ । तर अहिले मुलुकमा भ्रष्ट र अनैतिक चरित्रका मानिसहरु नै ठुला बनेका छन् । समाजमा उनीहरुकै हाली–मुहाली हुने गरेको छ ।

‘बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुले अवैध कर्म र यिनका अनुचित तवरबाट आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ’ भने जस्तै भएको छ । वास्तवमा भ्रष्टाचारको जालो यसरी फिजिएको छ कि कसले कुन ठाउमा कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने कुरा पत्ता लगाउन कठिन हुँदै गएको छ ।

भ्रष्टाचार मानिसको प्रवृत्ति सँंग गास्ने विषय भएकाले यसको सम्बन्ध सबैतिर जेलिएको हुन्छ । यस्तो अवस्थामा कुनै एकपक्षको एक्लो प्रयासबाट यसलाई रोक्न सकिँदैन यसलाई रोक्ने कार्यमा सरकार र राजनीतिक दलको अहम भूमिका हुन्छ । मुलुकलाई कुन विधि र प्रकृयाबाट अगाडि बढाउँदा देश र जनताको भलाई हुन्छ भन्ने कुरा नेतृत्वले नबुझ्दा नै नेतृत्वप्रति प्रश्न गर्ने ठाँउ खडा भएका हुन् ।

नेताहरु चरित्रवान र इमान्दार नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढेर जान थालेको छ । जनतामा निराशा उत्पन्न भएपछि जाग्न खोज्नु घरमा आगो लागेपछि कुवा खन्ने तयारी गरेजस्तै हुनेछ । पहिले नै कुवा खनेमा घर आगलागीबाट जोगाउन सकिन्छ भनेझैँ देश भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेपछि नियन्त्रणको कुराले खास अर्थ राख्दैन ।

आज अस्वभाविक,आश्चर्यजनक रुपमा अकुत सम्पत्तिका मालिकहरुको जन्म भइरहेको छ । यसलाई समयमै रोक्न वा नियन्त्रण गर्न सकिएन भने भ्रष्टाचार मुक्त गर्ने अभियानले सार्थकता पाउन सक्दैन । भ्रष्टाचार नियन्त्रण सम्बन्धि कृयाशिल संघ संस्थाको भूमिका अझ सशक्त र प्रभावकारी हुनु जरूरी छ । यसका लागि सबै जिम्मेवार तह र निकायको तर्फबाट सचेतनापूर्ण खबरको आवश्यकता पर्दछ ।

समाजको प्रमुख शत्रुको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने गराउने अभियानले सार्थकता पाउँदैन मुलुकमा कानूनी राज्य र सुशासन स्थापना गर्न सहयोग पुग्दछ । यसैबाट देशले आर्थिक समृद्धि प्राप्त गर्न सक्दछ ।

(लेखक बझाङको सुर्मा गाउँपालिकाका आन्तरिक लेखा परीक्षक हुन् )

One comment on "भ्रष्टाचार नियन्त्रणमा रक्षक नै भक्षक"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.