एनएमबी र एनआईसी मर्जका समाचारले सञ्चालकमा इरिटेशन, कर्मचारीमा त्रास

  २०७७ भदौ २२ गते ८:५६     विकासन्युज

काठमाडौं । केही प्रवर्द्धक समान भएका कारण नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच मर्जरको लागि सहजीकरण थालेको छ । दुबै बैंकका अध्यक्षसँग राष्ट्र बैंकका अधिकारीहरुले मर्जरको विषयमा छलफल थालेपछि यी दुई बैंकलाई आपसमा मर्जरमा जान राष्ट्र बैंकले दवाव दिएको सन्देशसहितका समाचारहरु प्रकाशन भइरहेका छन् ।

एनआईसी एशियासँग मर्जरको विषय जोडर प्रकाशित समाचारहरुले एनएमबी बैंकका सञ्चालकमा इरिटेशन भएको छ भने कर्मचारीमा त्रास फैलिएको छ ।

‘राष्ट्र बैंकले एनएमबी र एनआईसीमा ‘क्रसहोल्डिङ छ’ भनेको छ । वास्तवमा दुई बैंकमा क्रसहोल्डिङ छैन । केही लगानीकर्ताले लगानी विविधि करण गर्दा दुबै बैंकमा थाेरै लगानी गरेका होलान्, अरु बैंकमा पनि यस्तो लगानी हुन्छ’ एनएमबी बैंकका एक सञ्चालकले भने- ‘सीमित लगानीकर्ताले विवेकशील निर्णय गर्दै लगानी विविधिकरण गरेको विषयलाई क्रस होल्डिङका नाममा जबरजस्ती मर्जर गराउनु न्यायोचित व्यवहार होइन, अहिलेको संविधान र देशले अंगिकार गरेको अर्थ व्यवस्थाले पनि त्यस्तो छुट दिन्छ जस्तो लाग्दैन,’ एनएमबी बैंकका एक संचालकले विकासन्युजसँग भने ।

एनएमबी र एनआईसी एशियाबीच स्वेच्छिक मर्ज हुन नसक्ने उनले बताए । त्यसमा उनको तर्क भावनात्मक वा कानुनी नभई व्यवसायिक छ ।

एनआईसी एशिया नाफा केन्द्रीत बैंक भएको तर एनएमबी बैंक सेवा केन्द्रीत भएको उनले बताए । ‘हामी पनि नाफा हेर्छौ तर ग्राहकको सहयात्री र सहयोगी हो भएर नाफा खोज्छौं । तर एनआईसी एशिया ग्राहकमैत्री छैन’ उनले भने- ‘बिजनेशमा रेपुटेशन धेरै ठूलो कुरा हो । तपाई हामी सबलाई थाहा छ, एनआईसी एशियाको रेपुटेशन खराब छ ।’

एनआईसी एशिया बैंकको कस्टुमर सर्भिस नराम्राे भएकाले उक्त बैंकबाट कर्पाेरेट हाउसहरु निस्किएको उनले बताए । ‘७/८ वर्ष अघिसम्म एनआईसी बैंकको कर्पोरेट क्लाइन्ट वेस धेरै राम्रो थियो । अहिले उसले त्यो पोजिशन गुमाएको छ’ उनले भने ।

एनआईसी एशिया बैंकले विभिन्न चमत्कारिक योजना ल्याएर नयाँ निक्षेपकर्ता वा ऋणिलाई आकर्षित गरेको छ । उसकाे बिजनेश पनि बढेको छ । तर ग्राहकको सन्तुष्टिको लेबल ज्यादै कमजोर रहेको उनले बताए । ‘तपाई मिडियाको मान्छे । सर्भे गर्नु सक्नुहुन्छ, फ्याक्ट फाइण्डिङ गर्न सक्नुहुन्छ । एनएमबी बैंकका ग्राहक र एनआईसी एशिया बैंकका ग्राहकको स्याटिस्फ्याक्सन लेवल कुन स्तरको छ ?’ उनले गम्भिर विषय उठाए ।

राष्ट्र बैंककाे गुनासाे सुन्ने इकाइकाे विवरणले पनि एनआईसी एशिया बैंकका ग्राहक कति असन्तुष्ट रहेका छन् भन्ने प्रष्ट पारेकाे उनले बताए । ‘राष्ट्र बैंकमा परेका उजुरी तथा गुनासा मध्ये ५० प्रतिशतभन्दा बढी एनआईसी एशिया एशियाबाट छ, अरू २६ वटा बैंककाे ५० प्रतिशतभन्दा कम छ’ उनले भने ।

उद्यमशीलतालाई प्रवर्द्धन गर्नु बैंकको महत्वपूर्ण जिम्मेवारी भएको र एनएमबीले त्यसतर्फ महत्वपूर्ण कार्यहरु गर्दै आएको उनले बताए । एनएमबी बैंकको कर्जा लगानीको पोर्टफोलियो पनि उत्कृष्ट रहेको उनले बताए ।

‘एनएमबी बैंक र एआइसी एशिया बैंकबीच मर्जर हुन लाग्यो, राष्ट्र बैंककै दवाव छ भन्ने समाचार आउने गरेका छन्, सेयर बजारमा पनि सोही प्रकारको हल्ला र अड्कलबाजी चलेको सुन्छु’ उनले भने- ‘म पनि यो बैंकको संचालक समितिमा छु, एनआइसी एशिया बैंकसँग मर्जरका बारेमा संचालक समितिमा छलफल पनि भएको छैन ।’

‘एनआइसी एसिया बैंकसँग मर्जरमा जान लागेको हो भन्ने भनेर मलाई पनि धेरैले प्रश्न गर्छन । यस्तो प्रश्नले मलाई इरिटेट गराउन थालेको छ’ उनले भने ।

‘एनआइसी एशिया बैंकको देशव्यापी ठूलो नेटकर्व छ, राम्रोसँग नाफा गरिरहेको छ तर उसको बैंकिङ र हाम्रो बैंकिङमा आकाश जमिनको फरक छ, उसको र हाम्रो सोच नै मिल्दैन, फेरि यी दुई बैंक मर्ज भएपछि हुने के हो भन्ने प्रष्ट पनि भएको छैन’ ती संचालकको भनाइ छ । यी २ बैंकबीच मर्जर गराउँदा त्यसबाट सिनर्जी आउन नसक्ने उनको भनाई छ ।

कर्मचारीमा तनाव

एनआईसी र एनएमबी मर्जको हल्लाले एनएमबी बैंकका कर्मचारीमा पनि तनाव देखिएको छ । कर्मचारीको सेवा सुविधा एनआईसी एशियामा भन्दा एनएमबीमा राम्रो रहेको तर एनआईसीमा कर्मचारीलाई बढी पेलान रहेको एनएमबीका कर्मचारीको बुझाइ छ ।

एनआईसी एशिया बैंकका कर्मचारीमा असन्तुष्टि व्यापक रहेको पनि एनएमबीका कर्मचारीको बुझाई रहेको छ । ‘एनआईसी एशिया बैंकले वर्षमा कति भ्याकेन्सी खोल्छ, कति नयाँ कर्मचारी राख्छ, कति धेरैले छोड्छन्, त्यसको कारण के हो, सबै हामीलाई थाहा छ । एनएमबी छोडेर एनआईसी एशिया जाने अधिकांश कर्मचारी पछुताएका छन्’ एनएमबीका एक कर्मचारीले नाम नखुलाउने सर्तमा बस्तु स्थिति चित्रण गरे ।

दुई बैंक मर्ज हुँदा एक हजार भन्दा कर्मचारी जागिर छोड्नु पर्ने अवस्था सिर्जना हुने आँकलन उनीहरूकाे छ । एनआईसी र बैंक अफ एशिया नेपाल मर्ज भएकाे एक वर्षमा उक्त बैंकबाट ६०० कर्मचारीले जागिर छोडेका थिए । छोड्नेमा अधिकांश कर्मचारी बैंक अफ एशिया नेपालबाट मर्ज भई आएका थिए । उक्त घटनाले पनि एनएमबी बैंकका कर्मचारीमा बढी तनाव देखिएकाे रहेछ ।

One comment on "एनएमबी र एनआईसी मर्जका समाचारले सञ्चालकमा इरिटेशन, कर्मचारीमा त्रास"

  • Ramjee Pandit says:

    Strong bank le less strong bank lai acquisition garne ho. century bank and civil bank merger garer how bank becomes strong?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.