नागरिकप्रति राज्यको दायित्व खोई ? किन तिर्ने हामीले कर ?

  २०७७ भदौ १६ गते १६:४८     दिपक न्यौपाने

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले सारा विश्व आक्रान्त बनेको छ । विश्वका कैयौ नागरिकहरु अल्पायुमै आफ्नो जीवन उत्सर्ग गर्न विवश छन् । विश्वमा ८ लाख ४६ हजार भन्दा बढी मानिसको कोरोनाको कारण मृत्यु भैसकेको छ र संक्रमितको संख्या भने साढे २ करोड भन्दा अधिक रहेको तथ्याङ्क सार्वजनिक भएका छन् । विश्वका शक्ति राष्ट्रहरु यस रोगको भ्याक्सिन बनाउन आफ्नो प्रतिष्ठाको लडाई लडिरहेका छन् । आशा गरौ छिट्टै यस रोगको भ्यासिन बजारमा आउने छ र सामान्य जीवनतर्फ छिट्टै फर्किन पाइने छ ।

विश्वका विभिन्न देशहरुले आफ्ना नागरिकप्रतिको दायित्व जिम्मेवार भएर बहन गरेका छन् । आफ्ना नागरिकको समस्या समाधानको लागि विभिन्न राहत तथा सहायता घोषणा गरिरहेका छन् । विपतमा रहेको नागरिकको घाउमा महलम लगाउने कार्य गरिरहेका छन् । हावाको तेज जसरी यो देशले नागरिकप्रति यो गर्यो, ऊ देशले ऊ गर्यो भन्ने सामाचार विश्व भर फैलिरहेको छ र म पनि मेरो देश तथा राज्यबाट केही भरोसा र केही आशा मै रहेको छु । तर पनि आजसम्म नागरिकले प्रत्यक्ष लाभ पाउने खालको केही कार्यक्रम घोषणा हुन सकेको छैन । राज्यको ढुकुटी रित्तो भएर हो या सरकारले आवश्यक नठानेर बुझ्न कठिन भइरहेको छ मलाई ।

म त देशको जिम्मेवार नागरिक भएकोले राज्यप्रतिको दायित्व कुशलतापूर्वक नै निर्वाह गरेको छु । राज्यलाई पारिश्रमिक कर, बहाल कर, सम्पत्ति कर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क, भन्सार शुल्क, लगायतका कैयौं शीर्षकमा वर्षमै लाखौ कर राज्य कोषमा व्यक्तिगत योगदान मार्फत भुक्तानी गरेको छु । राज्य सञ्चालन गर्ने बागडोर सम्हाल्ने व्यक्तिहरुको सेवा सुविधमा मेरो समेत केही हिस्सा अवस्य छ । राज्य रहे मात्र यो देशको नागरिक रहन पाइन्छ भन्ने कथनलाई राम्रोसँग मनन गरेर सभ्य नागरिकले राज्यप्रति वहन गर्नु पर्ने दायित्व कुशलता पूर्वक वहन गर्दै आएको छु ।

आज म विपदमा पर्दा मैले पनि राज्यको आवश्यकता महशुस गरेको छु । हात मुख जोर्न समस्या भएकाको व्यवस्था राज्यले गर्नु पर्दछ । कोरोना महामारीले आक्रान्त भएको समाजमा सरकार अस्पतालमा बेड छैन घरमै बस्नुस भन्दै आफ्नो लाचारीपन देखाइरहेको छ । लकडाउन र निषेधाज्ञालाई कोरोना उपचारको उत्तम कडीको रुपमा सरकारले लिएको छ । समाजमा फैलिसकेको कोरोनामुखी आगोको राँको नियन्त्रणको लागि हालसम्म न्यायोचित र देखिने खालका कार्यक्रमहरु आउन सकेको छैन । यस्ता क्रियाकलापहरुले प्रश्न चिह्न उब्जिएको छ , मप्रति राज्यको दायित्व खोई ?

लेखक

देशमा तीनै तहको निर्वाचन भएर जनताको सरकार छ भनेर भनिन्छ । स्थानीय सरकार सञ्चालनले गर्दा बढेको राज्यको व्ययभार धान्न कर दायित्वमा कैयौ गुणा वृद्धि भएको छ र निमुखा जनताले आफ्नो छाक काटेर सरकार सञ्चालनको लागि राज्य कोषमा रकम दाखिला गरेका छन् तर राज्यबाट विपद पर्दा जनता प्रति गरिने व्यवहार यही हो ? देशका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तीन तहका सरकार छन् । सबै तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर गएका जनता कै प्रतिनिधि नेतृत्व तहमा छन् तर जनताको समस्या समाधान तर्फ कुनै चासो छैन र समस्या समाधानको लागि कर्मचारीतन्त्रकै लागि भर पर्नु पर्ने अवस्था छ । यही हो जनताको शासन ?

जनता रुँदा देश रुनु पर्ने र आफ्नो दिलो ज्यान दिएर जनताको समस्या समाधानतर्फ लाग्नु पर्ने आजसम्म जनताले देशको महशुस नै गर्न नपाउनु लज्जाश्पद कुरो हो । रोजगारी गुमाएका र यस विपदकोे घडीमा हात मुख जोर्न समस्या भएकाको समस्या मात्र सम्बोधन भएमा पनि पक्कै ठूलै राहत हुने थियो ।

मैले राज्य प्रति निर्वाह गर्नु पर्ने दायित्व कर्तव्य निष्ठ भएर निर्वाह गरेको परिपेक्षमा राज्यबाट समेत सोही किसिमको आशा गरेको छु । यद्यपी अहिले मलाई आवश्यकता परेको खण्डमा राज्यले आफ्नो उपस्थिति देखाउँदैन भने मैले राज्यलाई चै किन सहयोग गर्ने भन्ने किसिमको भावना विकास भएमा यसले आगामी दिनमा ठूलै समस्या निमत्याउने निश्चित छ । यसतर्फ राज्यको वागडोर समाल्नेहरुले बेलैमा विचार गरेको आवश्यक निर्णय लिनु नै उचित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.