देशका ४ सय ७६ विद्यालयमा बने ‘आइटी ल्याब’, साढे ३ अर्ब रुपैयाँ छुट्याएर पुनः निरन्तरता

  २०७७ साउन २५ गते १८:४५     नबिन पाेखरेल

काठमाडौं । देशका ४ सय ७६ सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याव) स्थापना गरिएको छ । नेपाल दूर संचार प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ४ सय ७६ विद्यालयमा आइटी ल्याव स्थापना गरेको हो ।

प्राधिकरणले गत आवमा देशका विभिन्न ९ सय ३० वटा समुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म ४ सय ७६ विद्यालयमा मात्र ल्याब स्थापना गर्न सकेको हो । ४ सय १४ वटा सामुदायिक विद्यालयहरुमा सामान डेलिभरी भइसकेको तर कोरोना भाइरसको कारण जडान गर्न नसकिएको बताइएको छ ।

सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सामुदायिक विद्यालयमा गरिने शिक्षण विधिलाई गुणस्तरीय एवं प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापना गर्नको लागि प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ५० करोड रुपैयाँ छुट्याएको थियो । सोही बजेटमा सो कार्यक्रमलाई पुन निरन्तरता दिइएको हो ।

गत आर्थिक वर्षमा विविध कारणले आइटी ल्याव स्थापनामा ढिलाई भएपनि प्राधिकरणले पुनः चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ३ अर्ब ५० करोड रुपैयाँ छुट्याएर थप ७० आइटी ल्याब स्थापना गर्ने गरी १ हजार आईटी ल्याब स्थापना गर्ने उद्धेश्यले अगाडि बढेको छ । एनटीएले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सम्पूर्ण विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आईटी ल्याब निर्माण गर्ने योजना बनाएको छ ।

सूचना प्रविधिको प्रयोग गरी सुविधा सम्पन्न विद्यालयमा गरिने शिक्षण विधिलाई सामूदायिक विद्यालयसम्म पुर्याउने कार्यक्रमको उद्धेश्य छ । प्राधिकरणका अनुसार यस कार्यक्रमले ग्रामिण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यायलमा पढ्ने विद्यार्थीहरु र शहरी क्षेत्रका निजी विद्यालयमा पढ्ने विद्यार्थीबीच विभेद कम गर्न कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्न सक्ने प्राधिकरण बताउँछ ।

सूचना प्रविधिको प्रयोग गरी सुविधा सम्पन्न विद्यालय र स्थानीयस्तरका सामुदायिक विद्यालयबीच शैक्षिक गुणस्तरमा रहेको अन्तरलाई न्यूनिकरण गर्न कार्यक्रम सहयोगी बन्न सक्ने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।

प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा सकारात्मक भूमिका खेल्ने यस कार्यक्रम उद्धेश्य रहेको उनको भनाई छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनपनि यस कार्यक्रमको धेरै भूमीका खेल्न सक्ने यस क्षेत्रका जानकारहरु बताउँछन् । 

अर्यालका अनुसार गत आर्थिक वर्षमा ५० प्रतिशत मात्र काम सकिएको र चालु आवमा बाँकी रहेको सबै काम सक्ने गरी तयारी भइरहेको छ । उनका अनुसार ती ल्यावका लागि प्राधिकरणले २० प्रतिशत रकम दिइसकेको छ । गत आवमै सबै विद्यालयहरुमा आईटी ल्याव स्थापना गर्ने गरी काम भइहरकेो भएपनि बिचमै कोरोना आएकोले त्यसले काम गर्न समस्या भएको र काम गर्न नपाएको उनी बताउँछन् ।

प्राधिकरणले स्थापना गर्ने एउटा प्रयोगशालामा २४ वटासम्म कम्प्यूटर रहेका छन् । जसमा २ सेट हार्ड डिस्क (एक्सर्टनल) पनि दिइको छ । प्रयोगशालामा इन्टरनेट पनि जोडिएको छ ।

डिजिटल शिक्षा प्रभावकारी हुने

नेपाल सरकारले डिजिटल नेपाल निर्माणको अवधारणा अघि सारेको छ । यही समयमा विद्यालयहरुमा आईटी प्रयोगशालाले सरकारको सो अवधारणालाई सघाउने एनटीए बताउँछ । आईटी प्रयोेगशालाबाट विद्यार्थीहरुलाई सामान्य सिकाई बुझाईका कुरादेखि ठूला किसिमका तालिममा समेत सहयोग पुग्ने एनटीएको दावी छ ।

सिकाई छिटो र प्रभावकारी बनाउने भएकाले यसले शिक्षक तथा विद्यार्थी दुबैलाई लाभ गर्ने एनटीएको भनाई छ । साथै, अहिलेको कोरोना महामारीको अवस्थाले ई शिक्षाको महत्व बढाएको छ । डिजिटल प्रणालीबाट अध्ययन, अध्यापन गराउन समेत यो कार्यक्रम फलदायी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.