ग्लोबल आइएमई बैंक छाेड्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सम्झिए परशुराम कुँवर क्षेत्रीले, यस्ताे छ कारण

  २०७७ असार २५ गते १९:१३     परशुराम कुँवर क्षेत्री

स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैकको संचालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ ।

म मेरो रोज़गार समझौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैकिंग क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ ।

जिन्दगी भर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरेँ अर्थात विहान ९ बजे देखि बेलुका ९ वजे सम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाइमा त अब्बल नै थिएँ तर सरकारी स्कूल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहवाट बैकिगं क्षेत्रमा प्रवेश गरेको थिएँ ।  म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो ।

तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६” को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टासियर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सीईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता / सरकार र समूदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकारयोग्य थिएन ।

विं.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीईओको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थे । त्यो हिसावले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग साढे ३१ वर्ष सम्बध्द हुन पुगेको छु।

ग्लोवल आईएमई बैंकले राम्रो गरेको छ । राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैकको क्षमता छ । बैंकको पूर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ । बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममूखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस गर्ने छु । यस्तो गूणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र, म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु ।

विगत करिव साढे ३ दशक बैंकिंग क्षेत्र र त्यस भन्दा अघि करिव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु / म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु।

यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक दैनिक रूटिङ प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैकिगं क्षेत्रका कर्मचारीलाई तालिम प्रदान गर्नमा बिताउने छु । तालिम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ। मैले बैकिगं क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाढ्न चाहान्छु। मैले सधैं भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् ।

मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापूर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै मच्जाकाे निद्रा राेजे, मिठाे खाना कहिल्यै रोजिन। यसले मलाई  त्रास मुक्त बनायो। कतिपय अवस्थामा यो मेरो शक्ति पनि बन्याे, कमजाेरी पनि । यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबै भन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैकिगंको महाविद्यालय ग्रिन्ड्लेज / स्टैण्डर्ड चार्टड बैंकलाई स्रेय जान्छ । म वहाँहरुलाई सधै सम्झने छु ।

बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे तीन वर्ष वर्ष नेपाल बैकमा काम गर्दा ( जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु।

अन्तमा, बैंकिगं क्षेत्रमा जे जति गर्न सकें यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु ।

धन्यवाद

(ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि क्षेत्रीले सामाजिक सञ्जालमा राखेकाे भनाइ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.