नेपाल भेन्टीलेटर सर्भिसको सेवा शुरू, सबै अस्पतालमा उपलब्ध गराउने

  २०७७ असार २२ गते १७:१४     विकासन्युज

काठमाडाैं ।  नेपालमा “नेपाल भेन्टीलेटर सर्भिस” नामक परोपकारी  संस्था संस्थापना भएकाे छ । काेराेना जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टीलेटर बैंकको स्थापना गर्नु पर्छ भन्ने निष्कर्षमा पुगि उक्त संस्था स्थापना भएकाे हाे ।

यस संस्थाले सम्पूर्ण विश्व नै कोरोना भाईरस(काेभिड-१९)को संक्रमणबाट जुधिरहेको वर्तमान अवस्थामा कोभिड-१९ प्रकोपले महामारीको रुप लिँदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने छ ।

परोपकारी  संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उदेश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दुरदराजका अस्पतालहरुसम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने छ ।

कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्ने सकिने गरि संस्थाले समन्वय गर्दै छ ।

यस संस्थाले नेपालका औद्योगिक तथा व्यवसायीक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उदेश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र एउटा कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्मार गर्न खर्च गर्नेछ ।

संस्थाको संस्थापना पूर्व नै यसले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सरहाना गरि विभिन्न संघ, संस्था र व्यक्त्तिहरुले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन् भने धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

हाल यस संस्थासँग कोभिड-१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला,बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन् । कोभिड-१९ उपचारको लागि संसार भर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया सुचारु गरिसकेको छ ।

संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ । यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरि नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टीलेटरलाई केन्द्रिकित गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोहि प्रदेश कै शाखाबाट उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.