असार १५: राष्ट्रिय धान दिवस, दही च्युरा खाने दिन

  २०७७ असार १५ गते ७:५२     विकासन्युज

काठमाडौं । असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाएर मनाइदैंछ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिंदैछ ।

कोरोनाको महामारीमा पनि सामाजिक दुरी कायम गरेर असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिनेछ । पहिलै देखि असार १५लाई दही च्युरा पर्वको रुपमा लिने गरिएको छ । खेतीपाती तथा आफ्नो पेशा र व्यवसायमा लागेका नेपालीले असार १५ दही च्यूरा खाएर मनाउँछन् ।

छिटो मनसुन सुरु भएसँगै यसवर्ष हालसम्म करिब २५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान उत्पादन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.