कर्णालीमा १ हजार १ सयबढी काेराेना संक्रमित

  २०७७ असार ४ गते ७:३७     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १ हजार १ सय  नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार २ सुर्खेत र २ दैलेखमा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ हजार १ सय ४ पुगेको उनले बताए । महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल संक्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६ सय ३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २ सय ३७, सल्यानमा १ सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमाध्ये १ हजार २२ जना पुरूष र ८२ जना महिला रहेका छन् ।

कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४ सय ९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १ सय ५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १ सय ६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट ३ जना संक्रमितले कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एकरएक गरी ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म १ हजार ७ सय ९० नागरिक भारतबाट आइपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.