‘मुठ्ठी खाएर मुरी फलाउने’ समयमा कोरोना त्रास, सुरक्षित रहेर कसरी गर्ने यो वर्षको धान रोपाईं ?

  २०७७ जेठ ३२ गते १४:५०     सुनिता पुडासैनी

काठमाडौं । ‘मुठ्ठी खाएर मुरी फलाउने’ यो समय अन्य वर्षको तुलनामा नितान्त फरक छ । विश्वमा नै फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले भनेका सामाजिक दुरी कायम गर्नेदेखि पन्जा, मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग अनिवार्य छ ।

धान रोपाइँमा सामाजिक दुरी कायम गरी काम गर्ने सम्भावना न्यून हुन्छ । एउटै खेतमा कयौं मानिसले रोपाइँ गरिहेका हुन्छन् भने धान रोपाइँमा एकैपटक धेरै मासिन सहभागी हुने गर्छन् ।

नेपालको अधिकांश क्षेत्रमा कोरोना संक्रमण फैलिएसँगै कृषि क्षेत्रमा संलग्न रहेका व्यक्तिलाई कृषिमन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गरी कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी, विक्री गर्न भन्दै आएको छ ।

कृषकको एक महत्वपूर्ण एवं व्यस्त समय असार लागेसँगै रोपाइँको चटारोले छोपेको छ । धेरै मानिस जम्मा भएर सँगै गर्ने काम भएकाले कोरोना कहरको यो समयमा यस वर्षको रोपाइँ त्रासयुक्त हुने देखिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा सामाजिक दुरी कायम गरी काम गर्न तथा स्वास्थ्य मापदण्डभित्रका नियम पालन गर्न अनुरोध गर्दै आएको प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।

सबै पालिकाले आफ्नो क्षेत्रमा कृषिजन्य गतिविधिका लागि कृषकलाई उत्प्रेरित गर्दै कोरोना संक्रमणबाट सचेत रहन स्वास्थ्य मापदण्डको बारे बुझाउन आग्रह गरिएको प्रवक्ता डा.केसीले जानकारी दिए ।

नेपालका ७२ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको पाइएको छ । हालसम्म ५ हजार ३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भइसकेको छ ।

बाली लगाउने समय, कोरोना संक्रमणका उच्च जोखिमसँग समन्वय गर्दै स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरि काम गर्न स्थानीय सञ्चारमाध्यम तथा कृषि सम्बन्धि कार्यालयले जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न अनिवार्य रहेको वरिष्ठ् कृषिविज्ञ केदार बुढाथोकीले बताएका छन् ।

३÷४ फिटको दुरीमा रहि रोपाइँ गर्न आग्रह गरेपनि विऊ काड्नेदेखि खाजा, पानीमा समस्या हुने कृषि विज्ञ बुढाथोकीको भनाइ छ ।

‘पानीमा नै सबै जना काम गर्नु पर्ने हुँदा समस्या छन्, तर मास्क भने अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । सरकारले कृषकलाई अनुदान स्वरुप मास्क दिनदेखि सकेसम्म सामाजिक दुरी कायम राख्नका लागि सचेतनामुलक कार्यक्रमहरु स्थानीय रेडियोबाट प्रसारण गर्नु अनिवार्य छ’ उनले भने ।

विश्वमा नै आर्थिक संकट आउने, बेरोजगारीको संख्या तिव्र हुने समयमा कृषिजन्य उत्पादनतर्फ नेपाल सरकारको केन्द्रित भएको छ । तर मल, बिउ, पानी जस्ता समस्याले गर्दा विचलित बन्दै गरेका किसानमा मुख्य बाली धान रोप्दै गर्दा धेरै मानिस तथा सामाजिक दुरी कायम नहुने हुँदा कसरी सुरक्षित ढंगले रोपाइँ गर्न सकिन्छ भन्ने कुरा सोच्न थाल्नु सामान्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.