जोर्ज फ्लोइडको हत्याका आरोपित प्रहरीसँग १२.५ लाख डलर धरौटी माग

  २०७७ जेठ २७ गते ६:४२     विकासन्युज

काठमाडौं । अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा उपस्थित भएका छन् । अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ ।

आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा राख्दै १० लाखभन्दा बढी धरौटी माग गरिएको अभियोजनकर्ताहरूले बताएका छन् । डेरेक शोभिनमाथि नियतविना हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीमाथि हत्यामा सघाएको आरोप लगाइएको छ ।

निलम्बन
मे महिनामा भएको फ्लोइडको मृत्युको घटनाले विश्वव्यापी प्रदर्शनहरू निम्त्याएको छ भने प्रहरीमा पुनर्संरचनाको माग भइरहेको छ । श्वेत व्यक्ति शोभिनले मिनिअपलिसमा मे २५ तारिखमा फ्लोइडको गर्दनमाथि करिब ९ मिनेटसम्म टेकेका थिए ।

त्यसपछि उनी र बाँकी तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन् । टेलिकन्फरेन्समार्फत्‌ सोमवार अदालतमा उपस्थित भएका शोभिनले कुनै प्रकारको आग्रह गरेनन् । १५ मिनेट लामो सुनुवाइका क्रममा उनले केही भनेनन् । हातमा हतकडी लगाइएको अवस्थामा उनी सानो टेबुलमा बसिरहेका थिए ।

न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए । शोभिनका वकिलले धरौटी बापत माग गरिएको रकमलाई लिएर कुनै आपत्ति जनाएनन् ।

कैयौं पटक स्थानान्तरण गरिएपछि ४४ वर्षीय शोभिन हाल ओआक पार्क हाइट्सस्थित एक कारागारमा राखिएका छन् । अर्को पटक जुन २९ तारिखमा उनलाई अदालतमा उपस्थित गराइनेछ ।

यसैबीच, फ्लोइड पहिला बस्ने गरेको टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा अन्तिम दर्शनका लागि ६ घण्टा उनको शव राखिएको छ ।
मङ्गलवार ह्युस्टनमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ । मिनिअपलिस र फ्लोइड जन्मेको नर्थ क्यारोलाइना राज्यमा स्मृति कार्यक्रम भइसकेका छन् ।

राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले फ्लोइडका आफन्तलाई सोमवार भेटेका छन् । बाइडनले पीडित परिवारको पीडा र चिन्तालाई सुनेको फ्लोइडको पारिवारिक प्रवक्ता बेन्जमिन क्रम्पले बताएका छन् । मास्क र पन्जा लगाएर सामाजिक दूरी कायम राख्दै मानिसहरूले श्रद्धाञ्जलि दिइरहेका छन् ।

गिर्जाघरमा एक पटकमा १५ जनालाई मात्रै जान दिइएको छ । फ्लोइडको मृत्युपछि अमेरिकामा जातीयताविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दैछ । वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्‍यालीहरूको आयोजना गरिएको छ ।  (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.