‘पहुँचवाला’को चार्टर फ्लाइट चक्कर

  २०७७ जेठ २४ गते १४:३५     शिव सत्याल


काठमाडाैं । जापानमा अध्ययनरत भाइ पुरुषोत्तम फागुन पहिलाे साता काठमाडौं आएको थियो । चैत अन्तिम सातातिर जापान फर्कने उसको योजना थियो ।

तर, कोरोना भाइरस संक्रमण रोक्न भन्दै चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन जारी गर्यो । गाउँ गएको भाइ उतै ओखलढुंगामै रोकियो । सरकारले हवाई उडान पनि रोकेकोले जापान जाने विषय पनि बन्द थियो ।

यस्तैमा मे २० (७ जेठ) मा भाइले फोन गरेर जापान जाने कुरा सुनायो । उसको कुरा सुन्दा छक्क परेँ । लकडाउनको समय, ओखलढुंगादेखि काठमाडौं आउने समस्या, फेरि सबै प्रकारका हवाइ उडान रोकिएकोले सम्भव कुरा जस्तो नै लागेन ।

तर, उसैले २४ मेमा सुमेघ ट्राभल्सले जापानको नारिता लैजान लागेको डिटेल भाइबरमा पठाइदियो । उसलाई यो जानकारी जापानबाट आएको रहेछ । जापानको उसको अध्ययन गर्ने शैक्षिक संस्थाले नै यो दिन, यो ट्राभलले जापान चार्टर फ्लाइट गर्दैछ भनेर भाइलाई जानकारी पठाउँदो रहेछ । जानकारीमा विभिन्न बैंकको नाम उल्लेख गरेर सो ट्राभल्सको खातामा पैसा हालिदिनु भनिएको थियो ।

पत्रकारको जात न पर्यो । पेशागत कारणले पनि जिज्ञासुसहित शंकालु हुनैपर्छ । लकडाउनको बेलामा कसैले अवाञ्छित कार्य गरी ठग्न खोजेको हो कि भन्ने शंका उत्पन्न भयो । अनि गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सम्पर्क गरी लकडाउनमा अन्तराष्ट्रिय चार्डर फ्लाइट हुन्छ कि हुन्न भनेर सोधेँ ।

उनले हुन्छ भने । काठमाडौं बाहिरका यात्रु कसरी काठमाडौं आउँछन् त भनेँ । उनले जहाजको टिकट पक्का भएपछि र भिसा अवधि कायमै रहेकाको हकमा सम्बन्धित जिल्ला प्रशासनले पास बनाएर पठाउने व्यवस्था मिलाइएको जानकारी दिए । अनि सुमेघ ट्राभलले २४ तारिकमा जापानको नारिता जान स्वीकृति लिएको हो भनेँ ? उनले यो बारेमा आफूलाई जानकारी नभएको भन्दै एक जना उपसचिवको नाम र फोन नम्बर दिए ।

गृहका उपसचिव उमाकान्त अधिकारीले दिएको व्यक्तिलाई फोन गरेँ । उनले २४ तारिकको लागि नारिता चार्टर फ्लाइट गर्ने तयारी सुमेघ ट्राभलले गरेको तर गृहमन्त्रालयबाट अन्तिम स्वीकृति पाइनसकेको बताए । र, ती उपसचिवले सुमेघ ट्राभलका मेघ केसीको फोन नम्बर दिदै थप जानकारी उनैसँग लिन भने ।

यतिबेलासम्म म सामान्य पत्रकारबाट ‘पहुँचवाला’ भैसकेको थिएँ । किनभने गृहमन्त्रालयका अधिकारीसँग सम्बन्ध भइसकेको थियो, ट्राभल एजेन्सीका मान्छेको नम्बर पाएको थिएँ । लकडाउन जस्तो असामान्य परिस्थितिमा प्रशासन र व्यवसायी दुबैसँग सम्पर्क र समन्वय गर्न सक्ने व्यक्ति सामान्य हुँदैहोइन ।

मेघ केसीलाई फोन गरेँ । उनले भोलि विहान फोन गर्न भने । तर, यही बीचमा अर्काे एउटा ट्राभल एजेन्सीले २८ मेमा जापानको ओसाकामा चार्टर फ्लाइट गर्न लागेको जानकारी विभिन्न सामाजिक संजालमा भेटियो ।

भाइले पनि आफू बस्ने ठाउँ नारिताभन्दा ओसाकाबाट नजिकै पर्ने र २४ तारिकको लागि तयारी गर्न समय कम हुने भएकोले २८ तारिकमा ओसाका जान पाए राम्रो हुने बतायो । ओसाका एयरपोर्टमा आउने भए भाइले अध्ययन गर्ने शैक्षिक संस्थाले नै गाडी लिएर लिन आउने भनेको रहेछ । त्यसैले भाइले पनि ओसाका जान पाए उपयुक्त हुने बतायो ।

यो प्रसंग २१ मेको थियो । ओसाका चाटर्र फ्लाइट गर्न लागेको ट्राभल एजेन्सीको मान्छेलाई फोन गरेँ । उनले २८ मेमा आफूले ओसाका फ्लाइट गर्न लागेको बताए । उनले पनि टिकेट वापतको पैसा तत्काल बैंकमा जम्मा गरिदिन आग्रह गरे ।

माथि नै उल्लेख गरिसकेको छु कि म पहुँचवाला भइसकेको थिएँ । त्यसैले गृहमन्त्रालयका ती उपसचिवलाई फोन गरेर गृहको स्वीकृति पाउन अघि नै टिकटको पैसा दिन कत्तिको जोखिमरहित छ भनेर सोधें । उनले सबै सरकारी निकायबाट स्वीकृति पाइसकेपछि मात्रै टिकटको पैसा दिनु राम्रो हुने सुझाए ।

अनि २८ मेमा ओसाका उडान गर्ने ट्राभल एजेन्सीको मान्छेसँग फेरि कुरा गरें । उनको फाइल गृहमन्त्रालयसम्म नपुगेको बताए । अनि उनी मलाई साथीको व्यवहार गर्दै सबै प्रक्रिया जानकारी गराउन लागे । त्यो बेलासम्म उनले पर्यटन मन्त्रालयबाट स्वीकृति भने लिएका रहेछन् ।

२२ मेमा एक जना साथीले मलाई फोन गरे । उनको सालोलाई अमेरिका जानुपर्ने रहेछ । २४ मेमा प्रेसिडेन्ट ट्राभलले अमेरिका उडान गर्दै रहेछ ।

साथीको सालोलाई टिकट उपलब्ध भएन भनेर इमेल गरिएको रहेछ । तर, उनलाई जसरी पनि अमेरिका जानै पर्ने रहेछ । साथीले मबाट केही सहयोगको अपेक्षा गरेका रहेछन् । मैले सहयोग गर्न सक्ने अवस्था थिएन । त्यसैले यसमा सहयोग गर्न सक्ने व्यक्ति पर्यटनमन्त्री योगेश भट्टराई हुन भनेँ ।

नभन्दै उनले पनि च्यानल मिलाएर पर्यटनमन्त्री भट्टराई समक्ष यो विषय पुर्याएछन् । साथीको सालोले अमेरिका जाने टिकट पाए । गए । यो चार्टर्ड फ्लाइटकै अनुभव भएकोले उल्लेख गरेँ ।

अँ साँच्ची, उडान अनुमति लिने प्रक्रियाबारे भन्नै विर्सेछु ।

सबैभन्दा पहिला ट्राभल एजेन्सीले विदेश जाने मान्छे खोज्दा रहेछन् । कति यात्रु हुन सक्छन् भन्ने अनुमान अद्यागमन विभागबाट लिन्छन वा अन्यत्रबाट भन्ने थाहा भएन ।

त्यसपछि सामाजिक संजालमार्फत सूचना प्रवाह गर्दा रहेछन् । यात्रु यकिन गर्न अग्रिम पैसा बुझाउनु भन्ने शर्त राखिएको हुँदो रहेछ ।

त्यसपछि ट्राभल एजेन्सी पर्यटन मन्त्रालय जादा रहेछन् । पर्यटन मन्त्रालयले स्वीकृति दिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पत्राचार गर्दाेरहेछ । यो पत्रमा सम्बन्धित देश जाने यात्रुको नामावली र पासपोर्ट नम्बर उल्लेख हुँदो रहेछ । र, नेपाल एयरलाइन्सलाई चार्टर फ्लाइट गर्ने बारे जानकारी पनि दिइदो रहेछ ।

पर्यटनको पत्र प्राप्त भएपछि उच्चस्तरीय समन्वय समितिले परराष्ट्र मन्त्रालयमा त्यो निवेदन पठाउँदो रहेछ । पर्यटन मन्त्रालयले सम्बन्धित देशको दूतावाससँग समन्वय गर्दाेरहेछ । दूतावासले उडान अनुमतिको लागि स्वीकृति दिने भनेपछि परराष्ट्रले सो फाइल फेरि उच्चस्तरीय समन्वय समितिमा पठाउँदो रहेछ ।

परराष्ट्र मन्त्रालयबाट पनि फाइल फिर्ता भएपछि उच्चस्तरीय समन्वय समितिले सो फाइल गृहमन्त्रालय पठाउने रहेछ । गृहमन्त्रालयले निवेदनमा संलग्न भएका व्यक्तिहरुलाई सवारी पासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने गरिएको रहेछ ।

चार्टर फ्लाइट स्वीकृतिको प्रसंग उल्लेख गरेको सन्दर्भ बुझ्नु भयो नै होला । साथीको सालो योगेश भट्टराईको सहयोगमा अन्तिम समयमा अमेरिका जान पाएको विषय सम्झनुस भन्नका लागि यो प्रसंग जोडिएको मात्रै हो । हुन त साथीको सालो ७९ हजार रुपैयाँको टिकट क्यान्सिल गरेर बसेका थिए । चार्टर फ्लाइटमा ३ लाख ५० हजार रुपैयाँ तिरेर गए ।

फेरि पहिलाकै विषयमा फर्काैं ।

२२ मेमा ओसाका जाने जहाजको टिकट पक्का दिन्छु भन्यो त्यो ट्राभल एजेन्सीले । भाइसहित उसका साथीहरु ७ जना सँगै जाने थिए । उनले, ‘इकोनोमा प्याक भयो भने पनि त्यही पैसामा विजनेस क्लासमा हालेर लैजान्छु सर तपाईंका भाइहरुलाई, किन चिन्ता गर्नुहुन्छ’ भन्थे उनी ।

७ जनामध्ये ४ जनाले त टिकटको अग्रिम भुक्तानी गरेछन् । मैले पनि अन्तिम स्वीकृति पाएपछि मात्रै भुक्तानी दिदाँ हुने सुविधा पाएको थिएँ । यो बेलासम्म ट्राभलको मान्छे र गृहमन्त्रालयका ती उपसचिवले म पत्रकार हो भन्ने जानकारी पाएकै थिएनन् ।

म दिनै जस्तो फोन गरेर के भयो भनेर सोधिरहन्थे । उनी स्वीकृतिको प्रक्रियामा नै रहेको बताउँदै गर्थे । घरबाट भाइले मलाई फोन गरेर के भयो दाइ भनिरहेको हुन्थ्यो । पछि थाहा भयो, जवाफ कोहीसँग पनि रहेनछ । २६ मेमा बल्ल त्यो ट्राभल एजेन्सीले भन्यो कि मैले स्वीकृति नपाउने भए भनेर ।

अब पर्यो फसाद । भाइलाई टिकट मिल्ने पक्का जस्तै भएको जानकारी गराएको थिएँ । टिकट मिलेन । उसलाई दिने जवाफ पनि भएन । त्यसैले २ पटक त उसको फोन पनि उठाइनँ । तर, भाइ फोन गरेको गर्यै गर्न थाल्यो । एकाएक पहुँवाला बनेको म, फेरि सुरुकै अवस्थाको भएँ ।

सामाजिक संजालमा फेरि अर्काे जानकारी भेटियो, ४ जुनमा सेरेना ट्राभलले नारिता उडान गर्दैछ भन्ने । गृहका तिनै उपसचिव मार्फत त्यो ट्राभलका मुख्य व्यक्ति विष्णु बस्नेतको फोन नम्बर पाइयो । सुरुदेखि नै सम्पर्कमा रहेका कारण ती उपसचिव पनि मप्रति अलि सकारात्मक भइसकेका थिए । उनी मलाई सहजीकरण गर्न चाहन्थे ।

त्यसैले होला, उनी सेरेना ट्राभल्सका बस्नेतसँग ‘तपाईं आफै पनि कुरा गर्नुस्, मिल्यो भने म पनि आग्रह गर्छु, तर उनीहरुको व्यवसाय भएकोले मैले धेरै जोड गर्न मिल्दैन’ भन्थे ।

सेरेना ट्राभल्सका बस्नेतले टिकट छैन भने । उनको कार्यालयमा सम्पर्क गर्दा केशव थापा भन्ने व्यक्ति सम्पर्कमा आए । उनले जापान जाने सबै व्यक्तिको पासपोर्ट, दाइरो कार्ड (जापान बस्ने अस्थायी अनुमतिपत्र) भाइबरमा पठाउनु भने । पठाएँ । उनीहरुले ४ जुन र ७ जुनको लागि अनुमति लिएका रहेछन् । दुबै फ्लाइटको लागि टिकट सकिएको बताए । आफूहरुले १४ र १९ तारिकको लागि पनि अनुमति लिन खोजेकोले त्यसमा पठाउन सकिने संकेत गरे । जुन ४ र ७ तारिकको लागि भाडा १ हजार अमेरिकी डलर तय भएको रहेछ ।

भाइको शैक्षिक संस्थाले ४ जुनमा मिलाएर आऊ भनेर म्यासेज पठाइरहदो रहेछ । भाइ ४ जुनको फ्लाइटमा जसरी भएपनि मिलाउनु न दाइ भनेर भनिरहन्थ्यो । तर, मिलाउने कसरी ?

देखापढी डटकममा कार्यरत पत्रकार साथीले पर्यटन क्षेत्रमा पनि रिपोर्टिङ गरेका थिए । त्यसैले उनीबाट पनि केही पहल हुन सक्छ भनेर सोधेँ ।

ती साथीले मन्त्रालयमा भनेर काम हुन नसक्ने भएकोले पर्यटन बोर्डमा कुरा गर्नु भने । बोर्डका यी मान्छेले सहयोग गर्न सक्छन्, तपाईंले भन्दा भएन भने म पनि उपाय लगाउँला भन्ने उनको कुरा आयो । उनकै सल्लाह अनुसार बोर्डका ती अधिकारीसँग कुरा भयो ।

बोर्डका ती अधिकारीलाई परिचय खुलाएर कुरा गरेँ । उनले सहयोग गर्ने बचन दिदैं अर्काे एक जनाको नाम र फोन नम्बर दिए । ‘मेरो नाम लिएर उहाँलाई भन्नुस्, सहयोग गर्नुहुन्छ, उहाँले के भन्नुहुन्छ मलाई खबर गर्नुस्’ भने । फ्लाइटमा सरकारी कोटा पनि हुने भएकोले सातै जनालाई एकैपटक नसकिए पनि मिलाएर पठाउन सकिने अवस्था हुन सक्ने बताए ।

बोर्डका ती अधिकारीले भनेको व्यक्तिलाई फोन गरेँ । उनले ‘सर (बोर्डका ती अधिकारी) सँग म पनि कुरा गरौंला, चार्टर फ्लाइटमा सरकारी कोटा भन्ने नै हुँदैन, सबै सरकारी निकायबाट नामसहितको स्वीकृति लिइसकेकोले पछि व्यक्ति थपघट गर्न नमिल्ने’ आशय व्यक्त गरे । मैले भने साथीको सालो अन्तिम समयमा अमेरिका उडेको सम्झेँ । जे सम्झे पनि काम भएन ।

बढो बेचैनीमा थिएँ । यत्तिकैमा न्यूज २४ टेलिभिजनमा कार्यक्रम संचालन गर्ने डेभलपमेन्ट फोरमका अध्यक्ष शिव अधिकारीलाई सम्झेँ । किनकि उहाँको ट्राभल एजेन्सीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँग राम्रो सम्बन्ध र सम्पर्क रहेको जस्तो मलाई लागेको थियो ।

अधिकारीलाई फोन गरेँ । उहाँले टानका एक पदाधिकारीसँग त्यही बेला फोन गर्नुभयो र मेरो समस्या जस्तोको तस्तै राखिदिनुभयो । ती पदाधिकारीले हुन्छ भने । पासपोर्ट र दाइरो कार्ड मागे । मैले भाइबरमा पठाइदिएँ । पछि थाहा भयो ती पदाधिकारीले सुमेघ ट्राभल्सका मेघ केसीलाई नै भनेका रहेछन् । अब भाइको जापानयात्रा छिटोमा ११ जुनमा हुनेभयो । तर, ११ जुनको फ्लाइटका लागि समेघले स्वीकृति लिइसकेको थिएन ।

यस्तैमा १ जुनमा विहानै भाइले फोन गर्यो । र, एउटा अर्काे ट्राभलको नाम लिँदै त्यसमा गएर १ लाख ४३ हजार रुपैयाँ बुझाइदिनु टिकट छ रे भन्यो । भाइले भनेको व्यक्तिसँग सम्पर्क गरेँ । उनले आजै पैसा बुझाउनु, ४ तारिकको टिकट पाइन्छ भन्यो । उसले आफ्नो कम्पनीको बैंक खातामा पैसा जम्मा गरिदिए हुन्छ भन्यो ।

मैले उनलाई भेटेर चेक दिने बताएँ । उनले आफ्नो नक्साल अफिसमा आउन भने । नक्साल पुगेर फोन गरेँ । आफू दरबारमार्ग भएकोले त्यही आउँन भने । दरबारमार्ग गएँ । सडकमै बसेर चेक काट्न लागेँ । उनले एक व्यक्तिको नाम दिदै उसको नाममा चेक काट्न भने । मैले व्यक्तिको नाममा चेक काट्न नसक्ने बताएँ ।

उनले त्यसो भए ‘अफिस जानुस्’ भने । हुन्छ भनेर म उनको अफिस गएँ । भाइ र उसको एक साथीको १ लाख रुपैयाँसहितको चेक काटिदिएँ । रिसिप्ट दिए । बोकेर फर्के । बेलुका नै टिकट पठाइदिए ।

सेरेना ट्राभल्सले टिकट मूल्य १ हजार डलर तोकेको थियो । अर्काे ट्राभल्स मार्फत प्रतिव्यक्ति १ लाख ४३ हजार रुपैयाँ तिरेँ । त्यो दिनको अमेरिकी डलरको विक्रीदर प्रतिडलर १२१ रुपैयाँ २९ पैसा तोकेको थियो नेपाल राष्ट्र बैंकले । मैले कति डलर तिरेँ भन्ने हिसाव अझै गरेको छैन । र, गर्दिन पनि ।

टिकट पाएपछि पास कसरी बनाउने भन्ने अर्काे समस्या आइलाग्यो । यस्तैमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईलाई डराइ डराइ फोन गरेँ ।

मलाई सिडिओ अफिसका मान्छेसँग असाध्यै डर लाग्छ । त्यसमा पनि ओखलढुंगाको सिडिओ अफिसमा सम्पर्क गर्न झन् धेरै । किनकि २०५६ सालमा नागरिकता बनाउन जाँदा चस्माको दुबै खुट्टामा कालो डोरी बाधेर गर्दनसम्म पुर्याएका एक मोटे र अग्ला कर्मचारीले चस्मालाई नाकको डाडीमा झार्दै मलाई झपारेको अझै विर्सेको छैन । ओखलढुंगाको सिडिओ कार्यालय भन्ने वित्तिकै तिनै कर्मचारी सम्झन्छु ।

तर, तुलसी भट्टराई त्यस्ता रहेनछन् । मैले आफ्नो समस्या राख्ने वित्तिकै टिकटको कपि इमेल वा भाइबर गरिदिए त्यही माध्यमबाट पास उपलब्ध गराइदिने बताए । मैले त्यसै गरेँ । उनले पास पठाइदिए । सिडिओ कार्यालय त्यस्तो तर्सिनु पर्ने स्थान होइन रहेछ भन्ने आभास मलाई तुलसी भट्टराईले गराए ।

जे होस्, भाइ ४ जुनमा जापान उड्यो । र, ५ जुन साँझ ५ बजेतिर फोन गर्दै भन्यो ‘दाइ म कोठामा आइपुगेको २ घण्टा भयो, जापान एनआरएनले प्रतिव्यक्ति १५ हजारका दरले नारितादेखि नागोयामा हामी बस्ने घरसम्म ल्याइदियो, आरएको जहाजमा लास्टै हल्लाउँदो रहेछ नि दाइ ।’ मेरामा बत्ती नभएकोले सम्पर्क गर्न अलि ढिला भएको रहेछ ।

म ‘पहुँचवाला’को भाइ राम्रोसँग जापान पुग्यो । जापानमा सुरक्षित रहनु है भाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.