प्यारामाउन्ट मोटर्सले भन्यो- बजेटअघि १२० वटा गाडी भन्सार छुटाएका हाैं

  २०७७ जेठ २२ गते २१:५५     विकासन्युज

काठमाडौँ । प्यारामाउन्ट मोटर्स प्रालिले बजेट अगाडि १२० वटा विद्युतीय गाडी भन्सार छुटाएको जनाएको छ । कम्पनीले विहीबार विज्ञप्ती जारी गर्दै भान्सारबाट बैशाख १७ गते ४५ वटा र जेठ ७ गते ७५ वटा गाडी भन्सार छुटाएको जानकारी दिएको छ । तर ती सवारी साधन गत कात्तिक, मंसिर र पुसमा एलसी खोलि झिकाइएको र ग्राहकले बुकिङ गरेकाे मूल्यमा बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

जेठ १५ गते सार्वजनिक बजेटमा विद्युतीय गाडीमा भन्सार ४० प्रतिशत र अन्तशुल्क ३० प्रतिशत वृद्धि गरिएकाे छ । कर वृद्धि हुने गाेप्य सूचनाकाे आधारमा कम्पनीले एकै पटक १२० वटा गाडी भन्सार छुटाएकाे र कराेडाैं रूपैयाँ राजश्व लाभ लिएकाे कम्पनीमाथि आराेप लागेकाे छ ।

‘हालै विभिन्न संचार मध्यमहरुमा प्रकाशित यस संस्था र विद्युतीय सवारी साधन सम्बन्धि विभिन्न समाचारहरु प्रति कम्पनीको ध्यानाकर्षण भएको छ । समाचारहरुमा सरकारी सूचना चुहावट गरी/गराई अनावश्यक लाभ लिन बजेटको एक दिन अगाडि सवारी साधन भित्र्याउन यो संस्थाको भूमिका रहेको भन्ने कपोलकल्पित नकारात्मक समाचारहरुले अनावश्यक भ्रम फैलाउनुका साथै हाम्रो मान प्रतिष्ठामा पनि आँच पुर्याएको छ’ कम्पनीले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ-‘हामीले केहि महिना अगाडि हाम्रा ग्राहकले अग्रिम बुकिङ्ग गरेको आधारमा एमजी मोटर्सका विद्युतीय सवारी साधनको प्रतितपत्र (एलसी) खोलि आयात गरेका थियौं र सोहि क्रममा ती सवारी साधनहरु नेपाल भित्रिन थालेका थिए । यसरी विभिन्न समयमा खोलिएका प्रतितपत्र अन्तर्गतका सवारी साधन नेपाल ल्याउने क्रममा नेपाली सीमामा आई पुगेका थिए र भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई बापतको क्षति शुल्क तिर्नु पर्ने हुनाले हामीले सधैं समयमै भन्सार छुटाई सवारी साधनलाई नेपाल भित्र्याउने गरेका थियौं ।’

कम्पनीको सबै सवारी साधन केहि महिना अगाडि नै नेपाल आई पुग्नु पर्ने थियो तर कोभिड१९ का कारण ढिलाई हुन पुगेकाे जनाएकाे छ । कम्पनीले विभिन्न मितिमा सबै सवारी साधन चलान गरि नेपाल पठाएकोले त्यसरी नै हामीले प्राप्त गरेको र सोहि अनुसार भन्सार छुटाई नेपाल भित्राएका हौँ । हामीले हाम्रा ग्राहकले अग्रिम बुकिङ्ग गरेका माथि उल्लेखित १२० यी सबै सवारी साधन सोहि बुकिङ्ग मूल्यमा नै बुकिङ्ग प्राथमिकताको आधारमा आफ्ना ग्राहकलाई हस्तान्तरण गर्ने कम्पनीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.