कर्णाली प्रदेशले महामारी, भोकमरी र रोजगारीलाई प्राथमिकतामा राखेको छः प्रकाश ज्वाला

  २०७७ जेठ २२ गते १७:४०     विकासन्युज

अहिले सातै प्रदेश सरकारलाई बजेट निर्माण गर्ने चटारो छ । यही चटारोमा कर्णाली प्रदेश सरकार पनि जुटिरहेको छ । चालु आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कतिको बजेट ल्याउँदैछ ? बजेटका प्राथमिकता के–के हुन् ? र कोरोना भाइरसको महामारीलाई केन्द्रित गर्दै प्रदेश सरकारका नयाँ कार्यक्रमहरु के कस्ता छन भनेर कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

कर्णाली प्रदेशको आगामिक आर्थिक वर्षको बजेटको प्राथमिकता के–के हुन् ?

अहिले कोरोनाको महामारी छ । यो महामारीलाई मध्येनजर गर्दै हाम्रो बजेट आउँछ । हुनत अहिलेको बजेटको प्राथमिकता सबै प्रदेशका एकै किसिमका होलान् । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता भनेका महामारी नियन्त्रण, भोकमरीबाट जनताको जीवन रक्षा गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने हो । आम नागरिकलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने नै हो ।

कोरोना भाइरसले अहिले अर्थतन्त्र र मानिसलाई निकै असर पारेको छ । आर्थिक पुनरुत्थान र यसको जोखिम कम गर्नतर्फ हाम्रो बजेट केन्द्रित हुनेछ । अहिले स्वास्थ्यका भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ । शिक्षालाई कसरी व्यावहारिक बनाउने भन्ने तर्फ हाम्रो ध्यान जानेछ । कर्णाली प्रदेश सरकारले कोरोनाबिरुद्ध ठुलो जनशक्ति पनि परिचालन गरेको छ ।

हामीले नीति तथा कार्यक्रम मार्फत पनि कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषि रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने पनि हामीले भनेका छौं ।  सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शय्याको आइसोलेसन, ५ शय्याको आईसीयु र एक भेन्टिलेटरको व्यवस्था पनि गर्ने भनेर निती तथा कार्यक्रममा उल्लेख पनि छ ।

आगामी बजेटमार्फत धेरैलाई रोजगारी दिने भन्नुभयो, कति नागरिकलाई रोजगार बनाउनु हुन्छ ?

कर्णाली प्रदेशमा भारतबाट करिब ५० हजार फर्किदै र फर्कि रहेका पनि छन् । देशका विभिन्न ठाउँहरुबाट पनि हाम्रा नागरिकहरु प्रदेश भित्रिदै छन् । अन्य देशहरुबाट आउने क्रम जारी नै छ । करिब १ लाख मानिसहरु कर्णालीमा फर्किदै छन् । हामी उनीहरुका लागि दुई किसिमका कार्यक्रमहरु ल्याउँदैछौं ।

एउटा मुख्यमन्त्री कार्यक्रम हो । जसमार्फत कृषि उत्पादन र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ । प्रदेशमा विभिन्न साना घरेलु उद्योग स्थापना गरेर नागरिकलाई रोजगारी सिर्जना गर्ने हो । अर्को उनीहरुलाई खाद्यान्नमा श्रम सहितको रोजगारी हो । नागरिकले उसले खाद्यान्न पनि पाउँछन् र भोकमरीबाट पनि बाँच्छ र विकास पनि हुन्छ । मुख्यमन्त्री कार्यक्रम भनेको छाता कार्यक्रम हो । त्यसअन्तर्गत जिविकापार्जन हुने कार्यक्रम कृषिसँग सम्बन्धित र खाद्यान्न उपल्बधता सँगै विकास निर्माण ससहितको कार्यक्रमहरु हुनेछन् ।

अहिले हाम्रो अनुमान भनेको ७ लाख मानिसहरुलाई रोजगार बनाउनु पर्छ भन्ने हो । हामीले बाहिरबाट आएका मानिसहरुलाई पुुरै वर्ष दिन नसकेपनि ३ महिनाको वा १ सय दिनसम्मको रोजगारी दिन सक्यो भने आत्मनिर्भर बन्न सक्छन् । धेरै त आफ्नो खेतिपातीबाट पनि निर्वाह गर्न सक्छन् । यसरी नै हामी योजना बनाइरहेका छौं ।

कर्णाली प्रदेशको अहिलेको आवश्यकता के हो ?

अहिलेको मुख्य आवश्यकता र चुनौती भनेको कोरोना भाइरसको महामारीबाट बच्नु हो । यसको नियन्त्रण, रोकथाम तथा उपचारको कुरामा ध्यान दिनु पर्छ । स्वास्थ्य सँग सम्बन्धित पूर्वाधार निर्माण पनि हो । यसतर्फ हाम्रो गम्भीर ध्यान गएको छ । बजेट पनि त्यसैलाई केन्द्रित भएर आउँछ । उपचारका निम्ती उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थाको कुराहरु छन् । स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउने कुराहरु छन् ।

यी महत्वपूर्ण विषयहरु छन् । खाद्यान्न आपुर्ति गर्ने, मानिसहरुलाई भोकभोकै मर्न नदिने र नागरिकलाई रोजगारी प्रदान गरेर आत्मनिर्भर बनाउने कुरा पनि महत्वपूर्ण हो । कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा हुने दुर्घटनालाई लक्षित गर्दै दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गरिने, प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गर्नेे, घुम्ती स्वास्थ्य सेवा र टेलिमिडिसिन सेवा सञ्चालन गर्नेे, हवाइ उद्धार कार्यक्रम यथावत राख्ने र स्वास्थ्य प्रोफाइल तयार गर्ने नीति पनि लिएको छ ।

एक जिल्ला एक पर्यटकीय क्षेत्रको विकास गर्ने, प्रदेशका सबै जिल्लाका विमानस्थल सञ्चालन गर्ने प्रदेश सरकारको नीतिमै छ । ठूला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाउने, निजी क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी वृद्धिका कार्यक्रम ल्याउने र युवालाई उद्यम र रोजगारी दिन मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने हाम्रा कार्यक्रमहरु रहेका छन् ।

यी विविध कार्यक्रम तथा योजनाहरुका लागि कत्ति सम्मको बजेट ल्याउँदै हुनुहुन्छ ?

अहिले संघले पनि बजेटको आकार घटाएको छ । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकार पनि अवश्य घट्छ नै । सामान्यतयाः चालु आर्थिक वर्षभन्दा केही घटाएर ल्याउने गृहकार्यमा हामी छौं । हामीले ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएका थियौं । अब आगामी आर्थिक वर्षको बजेट त्यो भन्दा केही घटेर आउँछ । अहिलेको तयारी गर्दै गर्दा करिब । ३३ देखि ३४ अर्ब सम्को बजेट आउँछ ।

चालु आर्थिक वर्षको बजेटको उपलब्धि र कार्यान्यवनको अवस्था कस्तो रह्यो ?

कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन एकदमै तीव्र गतिमा अगाडि बढिरहेको थियो । तर, बिचैमा कोरोना भाइरसले उत्पन्न लकडाउनले गर्दा विकास निर्माणका कामहरु ठप्प हुँदा केही सुस्त चाहिँ भयो । यसको बिचमै पनि सुरक्षा सर्तकता अपनाएर केही कामहरु गरिरहेका छौं । ५० प्रतिशतसम्म पुगाउन सकिन्छ कि भनेर लागिरहेका छौं । त्यति निराशाजनक नभएपनि एभरेजमा हाम्रो कजेट कार्यान्वयन भएको छ ।

संघकले ल्याएको बजेटप्रति कर्णाली प्रदेशको धारणा के कस्तो छ ?

समग्रमा संघको बजेट ठीकै छ। तर, केही विषयमा प्राथमिकतामा केन्द्रित हुनु पर्थ्यो । जस्तै महामारी भोकमरी र रोजगारीमा केन्द्रित हुनु पर्थ्यो त्यो भएन । सामन्यतया सबै विषयमा समान खालको प्राथमिकता छकि भन्ने जस्तो छ । अर्को संघियतामा आउन सकेन । प्रदेशलाई ४ प्रतिशत, स्थानीय तहकलाई ७ प्रतिशत भनेको एकात्मक किसिमको झल्को दिने खालको भयो ।

तर, कर्णलीको हकमा चाहिँ महत्वपूर्ण पूर्वाधारका कार्यक्रमहरु छन् । केही विषयहरु कर्णलीमैत्री पनि छन् ।  कर्णालीका झण्डै दुई दर्जन महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिनु कर्णालीवासीका लागि खुशीको कुरा हो । कर्णालीमा स्वास्थ्य, सडक, खानी, खेलकुद, कृषि, पर्यटन, रोजगारी र औद्योगिक लगायतका क्षेत्रले बजेटमा प्राथमिकता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.