काठमाडौंमा ८१ जनाको आरडिटी पोजेटिभ, उपत्यकामा कोरोना संक्रमित अनगिन्ति छन् ?

  २०७७ जेठ ६ गते १८:००     डाेमी शेर्पा

काठमाडौं । काठमाडौें उपत्यकामा केही दिनदेखि गरिएको आरडिटी परीक्षणमा ८१ जनाको नतिजा पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा २२ सय जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ नतिजा आएको बताए ।

गएको एक हप्तामा काठमाडौंमा अचानक कोरोना संक्रमितहरु देखिएपछि सरकारले परीक्षणको दायरा बढाएको थियो । कालिमाटी तरकारी बजार, काठमाडौंका फोहोरमैला उठाउने व्यक्ति, गोंगबु एरिया, भृकुटीमण्डप जस्ता स्थान र केन्द्रहरुका व्यक्तिहरुको परीक्षण गरिएको थियो ।

कुल २ हजार २ सय ३६ जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ देखिएको । यस्तै, १ हजार १ सय १८ मा पीसीआर विधिबाट परीक्षण गरिएको देवकोटाले बताए ।

पीसीआर विद्यिबाट हालसम्म कसैको नतिजा पोजेटिभ नआएको उनले बताउँछन् । यद्यपि अझै नतिजाहरु आउन बाँकी रहेको उनले जानकारी दिए ।

८१ जनामा आरडिटी पोजेटिभ आउनुको अर्थ उनीहरु केही समयअघि कोरोना संक्रमित रहेको पुष्टि हुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको आरडिटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोना भाइरस सक्रिय थियो र अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो ।

आरडिटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडी मार्फत पहिला शरीरमा यो रोग थियो कि थिएन भन्ने देखाउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् ।

झा भन्छिन्, ‘हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि आरडिटी विधि पहिल्याएका हो ।’

कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई किसिमका एन्टिबडी उत्पादन गर्दछ । यि एन्टिबडी  यस्ता रहेका छन्-

१. आईजीएम

यो एन्टिबडी रोग लागेको सामान्यत एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि व्यक्तिपिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहने विज्ञहरु बताउँछन् ।

२. आईजीजी

यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ । आईजीजी एन्टिबढी शरीरमा महिनौंसम्म रहन सक्छ ।

सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ ।

यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर आईजीजी महिनौसम्म रहने गर्दछ ।

यसको मतलब सुरुमा परीक्षण गर्दा पीसीआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । काठमाडौं उपत्यकामा आरडिटी नतिजा पोजेटिभ आउनुले यो क्षेत्रमा कोरोना भाइरस संक्रमण पहिला नै फैलिसकेको त होइन भन्ने शंका बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.