राहतको सट्टा रोजगारी

  २०७७ जेठ ४ गते १३:५८     विकासन्युज

काठमाडौं । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ । नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम शुरु गरेको हो ।

सो नगरपालिकाको वडा नं ३ मा करिब ६ सय परिवारलाई लक्षित गरी उक्त कार्यक्रम शुरु गरिएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न भएको थिए । उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिँदै आएको उनले बताए ।

दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रका काममा परिचालन गरिएको उनले बताए । उनका अनुसार वन क्षेत्रमा अहिले वृक्षरोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य शुरु गरिएको छ ।

पहिलो चरणमा करिब ६ सय परिवारलाई रोजगारी दिइने तयारी गरिएको र अन्य क्षेत्रमा समेत त्यसरी नै रोजगारीको व्यवस्थापन गर्न लागिएको उनले बताए । स्वास्थ्य सुरक्षासहित सामाजिक दूरी कायम हुने गरी काम शुरु गरिएको हो । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने तथा त्यस्ता श्रमिकलाई सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दीप सुवेदीले जानकारी दिए ।

नगरपालिकाले बन्दाबन्दीका क्रममा श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई भने खाद्यान्न राहत नै प्रदान गरिने छ । सो सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवकसमेत खटाइएको छ ।

नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई योजना बनाएर सबै वडामा विस्तार गर्ने योजना रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिए । उनले वडा नं ३ को कार्यक्रमको नतिजाले अन्य वडामा पनि विस्तारमा सहयोग पुग्ने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.