काेराेना काेषमा सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

  २०७७ वैशाख २४ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद विडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

यसका साथै महासंघले आफ्ना जिल्लानगर संघवाट राहत तथा उद्धार कार्यमा खर्चगर्नेगरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । महासंघले उपलब्ध गराएको यो रकमका जिल्ला तथा नगर संघले ४० लाख रूपैयाँ थप गरी राहत तथा सहायता उपलब्ध गराउनेछन् ।

बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्धेश्यले सुनचाँदी ब्यवसायी महासंघद्दका तर्फवाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताए । महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयहरुको पूर्णरुपमा पालना गर्दै यस्तो विकराल अवस्थामा सरकारले चाल्ने प्रत्येक कदममा सुनचाँदी ब्यवासयीहरुको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । ब्यवसायीहरुको तर्फवाट मुलुकका ६१ जिल्लाहरुमा पनि भन्दा बढी विभिन्न किसिमका आर्थिक सहयोगका राहत वितरणका कामहरु गरिँदै आएको उनले बताए ।

त्यसक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले प्रकोपविरुद्ध लड्न सुनचाँदी ब्यवासयी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले महामारिको यो घडिमा ब्यवसायीकातर्फवाट गरिएको सहयोगले सरकारलाई आर्थिक सहयोग मात्र नभएर आत्मवल बढाउन समेत मद्धत पुग्ने बिश्वास ब्यक्त गरे। उपाध्यक्ष पवन कुमार सोमानीले महासंघले यस्तो सहयोग आगामी दिनमापनि जारी राख्ने बताए ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले महासंघले बिश्वब्यापीरुपमा फैलिएको यस प्राकृतिक विपत्तिको समयमा केन्द्रिय राहत कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुकासाथै विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्य मार्फत राहतका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको बताए । महासंघका कोषध्यक्ष महेन्द्ररत्न शाक्यले ब्यवसायीहरुको सहयोगवाट महामारिको रोकथाममा थोरै भए पनि सहयोग मिल्ने आशा ब्यक्त गरेका छन् ।

महासंघले यस किसिमका विपत्तिको समयमा विगतमा पनि निरन्तररुपमा सरकारलाई सहयोग गर्दै आएको छ । पछिल्ला केही महिनायता विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुममा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम एवं स्वास्थ्यकर्र्मीहरुको अथक प्रयासले हालसम्म उल्लेख्य मानवीय संकट आई सकेको छैन । यसका लागि नेपाल सरकार तथा यो रोगसंग जुध्न अग्रपंक्तिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई महासंघले धन्यवाद समेत दिएको छ ।

यस्तो नाजुक अवस्थामा महासंघ मानवीय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ । यो संकटको घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको छ । महासंघले विपत्को घडिमा अहोरात्र खटेर साथ दिनुहुने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत हामी बिशेष धन्यवाद समेत दिएको छ । महासंघले यसअघि २०७२ को विनासकारी भूकम्पका वेला पनि २५ लाख रुपैयाँ आर्थिक सहयोग सरकारलाई उपलब्ध गराएको थियो ।

महासंघका अध्यक्ष अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायीहरुको प्रतिनीधिमण्डलमा महासंघका अध्यक्ष मोहन कुमार सुनार, बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.