घर भाडाको समस्या हल गर्न होस्टल ब्यवसायीले सरकार गुहारे

  २०७७ वैशाख १८ गते ११:५५     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले आफ्नो व्यवसाय गम्भीर जोखिम र समस्यामा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग सहयोग माग गरेका छन् । राष्ट्र बैङ्कले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा होस्टल व्यवसाय समावेश नगरेपछि अर्थमन्त्री डा.युवराज खतिवडा समक्ष नेपाल होस्टल एसोसिएसनले मागपत्र पेस गरेको हो ।

वैशाख १८ गते आफ्नो आठौँ वार्षिक उत्सव मनाइरहेको एसोसिएसनले सरकारलाई बुझाएको माग पत्रमा घर भाडा छुटको लागि सरकारबाट समन्वयको अपेक्षा गरिएको छ । अध्यक्ष भक्ति प्रसाद पाठक र महासचिव रुपाली पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ, ‘व्यवसायीलाई सर्वाधिक गाह्रो परेको घर भाडा सम्बन्धी विषयमा राज्यको तर्फबाट आम होस्टल व्यवसायीका घरधनीलाई भाडा छुटको लागि सरकारद्वारा आव्हान गरिदिन अनुरोध गर्न चाहन्छौ ।’

त्यसै गरी, काठमाडौं उपत्यका जस्तो महँगो सहरमा समेत औसतमा ८ हजार ५ सय मासिक शुल्क लिएर शैक्षिक वातावरण सहित गाँस र बासको व्यवस्था गर्ने क्रममा यो व्यवसायले लगभग नाफा रहित ढङ्गले सेवा प्रदान गर्दै आएको दाबी एसोसिएसनले गरेको छ । उक्त माग पत्रमा होस्टल व्यवसायलाई जोगाउन र यसले पुर्यावउँदै आएको सेवालाई पुनर्स्थापित गर्न सरकारले तयार गर्ने राहत उपलब्ध गराउनु पर्ने व्यवसायको सूचीमा होस्टल व्यवसायलाई समेत समावेश गर्न अनुरोध गरिएको छ ।

होस्टल व्यवसायलाई समेत सुलभ ऋण प्राप्त हुने व्यवस्थाका लागि अर्थमन्त्रीको सो माग पत्रमा ध्यानाकर्षण गराइएको छ । होस्टल व्यवसायीहरूले आफूलाई घर बहाल छुट दिने घरबेटीलाई समेत राज्यले असुल गर्ने कतिपय करमा छुट गरिदिन समेत सरकारसँग अनुरोध गरेको छ ।

यसैबिच, वार्षिकोत्सवको शुभकामना सन्देश दिंदै अध्यक्ष तथा महासचिवले आमा होस्टल व्यवसायीलाई एकजुट हुन र सामूहिक शक्ति र एकताको बलमा सामुन्ने रहेका चुनौतीसँग जुध्न आव्हान गरेका छन् । व्यवसायीको हित रक्षाका लागि एसोसिएसन जस्तोसुकै निर्णय गर्न तयार रहेको भन्दै यो सङ्कटमा धैर्य धारण गर्न सो सन्देशमा ब्यवाशायिलाई आग्रह गरिएको छ ।

देशभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । होस्टलमा व्यवशायीहरुको सवा अर्व भन्दा बढी लगानी रहेको छ । यसले ६० हजार भन्दा बढी सेवाग्राहीलाई सुलभ आवास र खानपानको व्यवस्था गर्दै आएको एसोसिएसनले जनाएको छ । यो ब्यवसायले १० हजार भन्दा बढीलाई रोजगारको अवसर समेत प्रदान गरेको एसोसिएसनको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.