यस्ता बने भूकम्पले ढलेपछिका निजी आवास, ८८ प्रतिशत काम सम्पन्न (फाेटाेसहित)

  २०७७ वैशाख १० गते १८:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो ।

२०७२ साल वैशाख १२ गते भूकम्प गएको ५ वर्ष पूरा हुन दुई दिन बाँकी छ । साे अवसरमा प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ । निजी आवास पुनर्निर्माणका क्रममा करिब ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

यस्तै, ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ वटा अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १ सय ४५ वटा पुनर्निर्माणको चरणमा छन् । सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ । कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन् ।

पुनर्निर्माणअन्तर्गत सुरक्षा निकायका १ सय ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् । भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणाधीन छन् । यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा छन् । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मि. सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि.मि. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि.मि. सडकको पुनर्निर्माण अन्तिम चरणमा छ ।

खानेपानी विभागमार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् भने १ सय वटा खानेपानी योजना कार्यान्वयनका चरणमा छन् । पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ ।

‘धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै हामी नेपालको पुनर्निर्माण र पुनर्स्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव र सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेका हौँ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने- ‘यस अवसरमा म तीनै तहका सरकार, विभिन्न सामाजिक एवं व्यावसायिक सङ्घ/संस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्था, कर्मचारी, स्थानीय समुदाय, आमजनता एवं मिडियालगायत पुनर्निर्माण कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा सहयोग पुर्याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्राधिकरणले साढे ४ वर्षका बीचमा राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएको नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकालीन अवस्था, तीन तहका सरकारको निर्वाचनमा केन्द्रित हुनुपरेको अवस्था, कर्मचारी समायोजन जस्ता समस्या तथा चुनौती सामना गर्दै पुनर्निर्माण र पुनर्स्थापनामा उपलब्धिहरू हासिल गरेको दाबी गरेको छ ।

‘सबै क्षेत्रमा स्थिति सहज भएको भए पुनर्निर्माण र पुनर्स्थापनामा यो भन्दा अझ धेरै उपलब्धि हासिल गर्न सक्थ्यौं तर त्यो विगत भइसकेको छ’-प्राधिकरणले बतायाे। यतिबेला कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेको उल्लेख गर्दै प्राधिकरणले त्यसले गर्दा पुनर्निर्माणका कार्यमा असर परेको बताएको छ ।

पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा द्रुत गतिमा काम जारी रहेका बेला कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिर्जित नयाँ खालको परिस्थितिले पुनर्निर्माण र पुनर्स्थापनाका कार्य गम्भीररूपमा प्रभावित भएका छन् । मानिसको जीवन रक्षाका सामु अरू विषय गौण बनेका छन् । स्थिति सहज हुनासाथ पूर्ववत् अवस्थामा नै पुनर्निर्माणका कार्य हुनेछन् ।

प्राधिकरणका अनुसार आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, पहिलो किस्ता लिई अझै पनि घर पुनर्निर्माण सुरु नगरेकालाई घर पुनर्निर्माण गर्ने वातावरण सिर्जना, जीविकोपार्जनका थप कार्यक्रम सञ्चालन गरी जनतालाई आर्थिकरूपले सम्पन्न बनाउने कार्य, तल्लो तहमा व्यावहारिकरूपमा देखापरेका समस्या समाधानलगायतका समस्या तथा चुनौती त पहिले पनि थिए । कोरोनाले पारेको प्रभावले पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको छ ।

भूकम्प स्वयंले भन्दा पनि मानव निर्मित कमजोर भौतिक संरचनाहरूले क्षति पुर्याउने प्राधिकरणले जनाएकाे छ। पछिल्लो समयमा भूकम्प प्रतिरोधी संरचनाहरू बनाउनुपर्छ भन्ने चेतनाको स्तर निकै बढेको छ । सुरक्षित नेपालको सपना साकार पार्न नेपालभर नै पुराना कमजोर संरचनाहरूको प्रबलीकरण गर्दै नयाँ बन्ने सबै संरचना भूकम्प प्रतिरोधी बनाउने कार्यलाई तीव्रता दिने प्राधिकरणले प्रतिवद्धता गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.