लकडाउनमा तनाब बढ्यो ? कम गर्न यस्ता छन् विज्ञका ५ टिप्स

  २०७७ वैशाख ६ गते ११:०२     डाेमी शेर्पा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ ।

हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको छ ।

अहिलेको अवस्थामा घरमा बसेका धेरैले आफूलाई सुरक्षित महसुस गरेका छन् । किनभने यो रोगको एउटा मात्र बच्ने उपाय हो अरु मासिनसँगको शारीरिक दुरी ।

मानिसको थुकको छिट्टाबाट पनि सर्ने र हालसम्म कुनै पनि उपचार पत्ता नलागेको कारण मासिनहरु यो रोगसँग अत्तालिएका छन् ।

सारा दुनियाँ घरभित्र बस्दा फ्रन्ट लाइनमा बसेर ड्युटीमा खटिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी होस वा अरु पेश व्यवसायका व्यक्तिहरु, उनीहरु सबैले आफूलाई सबैभन्दा धेरै असुरक्षित महसुस गरेका छन् ।

कोभिड–१९ को डरले धेरैले काम पनि त्यागेका छन् । तर अत्यावश्यक सेवामा संलग्न धेरैले काममा आउँदिन भनेर भन्न सकेका छैनन् । किनभने उनीहरुलाई अत्यावश्यक सेवा प्रवाह गर्नै पर्ने दायित्व छ ।

त्यस्ता अत्यावश्यक पेशामा संगलग्न धेरै व्यक्तिहरु अहिलेको अवस्थामा सबैभन्दा बढि तनावमा छन् । प्रस्तुत छ यस्ता अत्यावश्यक पेशामा संलग्न तथा घरमा बसिरहेका मानिसका लागि तनाव कम गर्ने उपाय के कस्ता हुन सक्छन् भनेर हामीले त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख मनोचिकित्सक प्राध्यापक डा. सरोज ओझासँग कुराकानी गरेर यो सामग्री तयार पारेका छौं ।

यो समय हरेक मानिसहरुको लागि एउटा निकै नै ठूलो चुनौती हो । त्यसमा पनि अत्यावश्यक सेवामा संलग्न जो कोहीको लागि यो समय निकै तनावपूर्ण रहेको छ ।

यो समयमा हामीलाई सबैभन्दा पहिला आफ्नो र आफ्नो परिवारको धेरै माया लागेको छ । तर, हामी कदापि नबिर्सौ कि हाम्रो यो सेवालाई इतिहासले पनि बिर्सने छैन । सारा संसार घरभित्र बसेको अवस्थामा हामीले गर्न पाएको पुण्यको कामलाई कसैले पनि चानचुने नसोचौं । सर्वप्रथम आफूले गरेको कामप्रति आफै गर्व गर्नुपर्छ ।

हामी आफूलाई सुरक्षित राख्दै अरुलाई पनि सुरक्षित राख्न सक्षम छौं ।

यो समयमा आफुमा भएको तनावलाई यसरी कम गर्न सकिन्छः

१. सन्तुलित भोजन

तनाव कम गर्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय हो सन्तुलित भोजन । तपाईहरु धेरैलाई थाहा नहुन सक्छ तर सन्तुलित भोजनले तनावलाई कम गर्न निकै नै मद्दत गर्दछ ।

हामी हामीले खाएका खानेकुरा हौं । अर्थात हामी जस्तो खानेकुरा खान्छौं, हामी त्यस्तै बन्छौं भन्ने एउटा प्रख्यात भनाई रहेको छ । पर्याप्त पानी, फलफूल, स्वस्थ खानाले दिमागलाई शान्त राख्नको लागि धेरै मद्दत गर्दछ । यस्तो समयमा तनाव कम गर्न भन्दै रक्सी, सुर्ती, चुरोटको सेवनले झनै तनाव बढाउन सक्छ । त्यसैले सर्वप्रथम सन्तुलित आहारमा सबैभन्दा बढी ध्यान दिनुहोस् ।

२. शारीरिक व्यायम

तनाव कम गर्ने अर्काे उपाय हो शारीरिक व्यायम । यसको लागि तपाईलाई घर बाहिरै गएर दौडिनु पर्छ भन्ने छैन । जिम जानुपर्छ भन्ने पनि होइन । तपाईले घरमा बिहानै उठेर घरभित्रै गीत बजाएर नाच्ने, बिहान समयमा उठ्ने, आफूलाई मन लागेको गीत सुन्दै मनपर्ने खानेकुरा बनाउने, घर सरसफाई गर्ने जस्ता काम गर्न सक्नुहुन्छ ।

यसलाई अन्य सामान्य दिन जस्तो सोचेर काममा जानुहोस् । काममा पनि सकेसम्म एकैठाउँमा लामो समयसँग नबस्नुहोस् । किनभने लामो समय एकैठाउँमा एउटै काम घोरिएर गर्दा झनै तनाव बढ्छ ।

३. २४सैं घण्टा समाचारको पछि नदौडिनुहोस्

अहिलेको अवस्थाको बारेमा जानकार भएको राम्रो हो । तर, जतिबेला पनि कति जनाको मृत्यु भयो, कति संक्रमित भए, नेपालमा कति जनामा कोरोना देखियो भन्ने जस्ता समाचारहरुबाट टाढा बस्नुहोस् । कार्यालयमा हुँदा पनि कोभिड–१९ को बाहेक अन्य कुरा गर्नुहोस् । साथीहरुसँग अन्य समयको भन्दा धेरै हाँसिमजाक गर्नुहोस् । एकअर्काेको आत्माबल बढाउने प्रयास गर्नुहोस् ।

४. केही समय विश्राम गर्नुहोस्

यदि तपाई काममा हुनुहुन्छ र धेरै तनाव महसुुस गरिरहनु भएको छ भने केही समय कानमा एयरफोन हालेर केही आनन्द लाग्ने धुनहरु सुन्नुहोस् । र, केही समय शान्त भएर बस्नुहोस् । आँखा बन्द गरेर लामो लामो सास फेर्नुहोस् । धेरै पानी पिउनुहोस् ।

अनि एकैपटकमा धेरै काम गर्ने प्रयास नगर्नुहोस् ।

५. समयमा सुत्ने, उठ्ने गर्नुहोस्

दिमागलाई स्थिर अवस्थामा राख्नलाई मद्दत गर्ने अर्को उपाय हो समयमा सुत्ने र समयमा उठ्ने । समयमा सुत्ने र उठ्ने बानीले तपाईलाई तनाव मुक्त हुने धेरै सहयोग गर्छ । एउटा तालिका बनाएर समयमा उठ्ने, खाने, रमाईलो गर्ने र समयमा सुत्ने बानी बसाल्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.