आरडीटी टेष्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन: स्वास्थ्य मन्त्रालय

  २०७७ वैशाख ४ गते १८:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको भन्ने बित्तिकै कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएकाे छ ।

आरडीटीबाट नेगेटिभ आउनुको मतलब उक्त व्यक्ति भर्खरै कोरोना भाईरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुनसक्ने मन्त्रालयले जनाएको हो ।

बिहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले त्यस्ता व्यक्तिहरुको यदि संक्रमितसँग सम्पर्कमा आएको ३ हप्ता नपुगेको भए पूर्ण १ हप्तापछि परीक्षण गर्नुपर्ने बताएको छ । हाल सरकारले धेरै व्यक्तिहरुमा र्यापिड टेष्ट गरेको छ जसमा धेरैको नतिजा नेगेटिभ आएको छ ।

र्यापिड टेष्टले शरीरमा कोरोना भाईरस प्रवेश अवस्थामा त्यससँग लड्नको उत्पादन गर्ने एन्टिबडिको परीक्षण गर्दछ । यो टेष्टले शरीरले एण्टीबडी उत्पादन गरेका छ वा छैन भनेर मात्र परीक्षण गर्ने हो ।

शरीरले कोरोना भाईरस शरीरमा प्रवेश गरेको सामान्यतः १ हप्तामा एन्टिबडी उत्पादन गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झा बताउँछिन् । कोभिड-१९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ ।

१. आईजीएम
यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि व्यक्ति पिच्छे फरक पर्न जाने र शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ ।

२. आईजीजी
यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र शरीरमा महिनौंसम्म रहन सक्छ।

सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ ।

यस्तै, रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ ।

त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउनसक्छ र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ ।

किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ?

हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ ।

आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् ।

यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.