२०७७ सालमा सिनेमाः रिलिज विद्युतीय उपकरणबाट, भुक्तानी डिजिटलाइज्ड

  २०७७ वैशाख ३ गते १५:१३     विकासन्युज

काठमाडौं । चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल संसारभर फैलिसकेको छ । जसबाट वैश्विक अर्थव्यवस्थामा गम्भीर असर पर्ने सरोकारवालाले बताइसकेका छन् ।

मानव सभ्यतालाई नै चुनौती दिन सफल कोरोना भाइरसले मानवको आधारभुत आवश्यकताको परिभाषालाई बलल्नु पर्ने अवस्थामा पुर्याएको छ । यो कहरको बर्तमान अवस्थामा मानव जीवनको प्रमुख आवश्यकता भनेको गाँस, बास, तथा पहिरनको साथै स्वास्थ्य शिक्षा तथा मनोरन्जन समेत संकटमा परेको छ ।

आशा गर्न सक्छौं कि केही समयपछि कोरोनासँग विजय प्राप्त गर्नेछौं । यो हाम्रो वर्ष २०७७ कोरोना भाइरस संक्रमणमाथिको विजयको वर्षका साथै मानव सभ्यताको नयाँ पदचापको पानीढलो बन्ने प्रवल संभावना समेत रहेको छ ।

केही समयपछि कोरोना कहर साम्य हुनेछ । मानवीय क्रियाकलाप दिन प्रतिदिन सामान्य हुँदै जानेछ । व्यापार व्यवसायले नयाँ पद्दतिवाट आफ्नो साम्राज्य फैलाउँदै जानेछ ।

वतर्मान परिस्थितिमा अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्रपनि नराम्रोसँग प्रभावित भएको छ । अन्य सामान्य समयमा समेत व्यवसाहिक रुप धारण गर्न नसकेको आरोप लाग्ने गरेको, निर्माणमा प्रयोग भएको ८० प्रतिशत लगानी डुब्ने गरेको, दर्शकको अपेक्षा अनुरुप चलचित्र निर्माण हुन नसकेको, जस्ता समस्याले गाँजेको नेपाली सिनेजगत यो कोरोनाको कहरबाट झन थलापरेको छ ।

कोरोना संक्रमणपछि विश्व बजारसँगै नेपालमा पनि हरेक क्षेत्रमा डिजिटल कारोबार बढ्ने सम्भावना देखिन्छ । नेपाली चलचित्र क्षेत्रले पनि चलचित्र प्रदर्शनको परम्परागत अवधारणा परिवर्तन गरी प्रविधिमैत्री नयाँ अवधारणामा जाने सम्भावना देखिन्छ ।

अहिलेसम्मको सिनेमाको व्यापारलाई हेर्दा विषेशत निर्माता मात्र समस्यामा पर्ने गरेको देखिएको थियो । कोरोनाबाट सिर्जित मानसिकताहरु जस्तै भिडभाडमा नजाने, सामाजिक दुरी कायम गर्ने, लगायतका कारणले चलचित्र निर्माता मात्र नभएर वितरक, प्रसारक, प्राविधिक, कलाकार लगायत समग्र क्षेत्र नै समस्यामा पर्ने देखिन्छ ।

यो समस्याको सामाधानको लागि अन्य क्षेत्रले जस्तै चलचित्र क्षेत्रले पनि केही नयाँ विधि र प्रक्रिया अबलम्बन गर्नुपर्ने आवश्यकता सरोकारवाले महसुस गरेका छन् । वर्तमानको कहरबाट औधोगिक क्षेत्रलाई माथि उक्लिन धेरै समय नलागे पनि मनोरञ्जन उद्योगलाई भने १ देखि २ वर्षसम्म लाग्न सक्नेछ ।

चलचित्र निर्माता तथा कलाकाल दीपकराज गिरी नेपाली चलचित्र वितरणको परम्परागत प्रणालीमा पुनरबिचार गरी नयाँ अबधारणामा नजाने हो भने नेपाली कला साहित्य र पहिचान समाप्त भएर सांस्कृतिक अतिक्रमणको चपेटामा परिने खतरा रहेको बताउँछन् ।

‘म सानो छदा गाडीमा हिन्दी गित बज्थे, पार्टी वा विहेमा हिन्दी गित नै घन्किन्थे, हलहरुमा हिन्दी सिनेमा नै चल्थे, अहिले यी सबै ठाउँमा नेपाली गित र नेपाली चलचित्रको उपस्थिति बलियो भएको छ, अहिले फेरि हामी संकटको संघारमा छौं, विदेशी चलचित्रहरु हाम्रा कार्यालय वा निवासहरुमा आइरहेका छन्, हाम्रा चलचित्रहरु फिल्म हलमा मात्रै छन्, यो परम्परागत प्रणालीमा सुधार गरेर हामी पनि नेपालीका घर वा कार्यालयमा पुग्न सकेनौं भने नेपाली चलचित्र उद्योगको अवस्था दयनीय हुन सक्ने सम्भावना छ,’ गिरीले भने ।

नेपाली चलचित्रले पनि डिजिटल प्लेटफर्म प्रयोग गरेर चलचित्र प्रदर्शन गर्ने र डिजिटल भुक्तानी लिने प्रणालीमा आवद्ध हुनुपर्ने उनको भनाइ छ ।

विश्व बजारमा चलचित्र प्रदर्शनको लागि नेटफ्लिक्स जस्ता प्लेटफर्म तयार भएर सोही अनुसार नेपाली चलचित्र पनि प्रदर्शनको अवधारणा आउन सक्ने निर्माता तथा निर्देशक निश्चल बस्नेछ बताउँछन् । तर, यसका लागि अहिलेको पूर्वाधारले नपुग्ने र नयाँ बन्नुपर्ने उनको भनाइ छ ।

‘थिएटरमा गएर फिल्म हेर्नुको मजा घर वा कार्यालयमा बसेर डिजिटल प्लेटफर्मबाट हेरेर लिन सकिदैन, तर डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्न नै सकिदैन वा यो विकल्प नै होइन भन्ने कुरा होइन, यसका लागि भुक्तानी प्रणालीलाई सहज बनाउनु आवश्यक देखिन्छ,’ निर्माता तथा निर्देशक बस्नेतले भने ।

डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्नको लागि भुक्तानी प्रणाली सहज, कम खर्चिलो र सबैको पहुचमा पुग्न आवश्यक रहेको उनको धारणा छ । अहिले संचालनमा रहेका डिजिटल भुक्तानी मध्यस्थकर्ता सेवा प्रदायकले लिने कमिसन धेरै भएको र सोही कारण फिल्म हेर्ने दर्शक तथा निर्मातालाई नोक्सानी हुने र मध्यस्थकर्ता सेवा प्रदायकले बढी फाइदा लिने अवस्थामा पुनरावलोकन हुनुपर्ने उनको भनाइ छ ।

निर्मात्री तथा अभिनेतृ दिपाश्री निरौला पनि अबको नेपाली चलचित्रको भविष्य डिजिटल प्लेटफर्ममै रहेको रहेको बताउँछिन् । तर, यसका लागि डेटा सुरक्षा मुख्य चुनौतिको रुपमा देखापरेको उनको भनाइ छ ।

‘नेपालमा पनि फिल्म प्रदर्शन गर्ने केही डिजिटल प्लेटफर्म संचालनमा छन्, तर त्यसमा राखिएको फिल्म पाइरेसीको चपेटामा परेका उदाहरण पनि बढ्न थालेका छन्, त्यसैले पाइरेसी रोक्ने र भुक्तानी प्रक्रियालाई सहज बनाउने हो भने अबको एकमात्र विकल्प डिजिटल प्लेटफर्म नै हो जस्तो देखिन्छ,’ निरौलाले भनिन् ।

चलचित्र मनोरञ्जन मात्र नभएर, कला, साहित्य, संस्कृति समेतको जर्गेना तथा प्रचारप्रसारको माध्यम भएकोले यो क्षेत्रको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् ।

हाल प्रयोगमा रहेको वितरण प्रणलीमा केही सुधार गर्नुपर्ने, प्रविधिको प्रयोगसँगै डिजिटल माध्यमलाई व्यवस्थित तथा सुरक्षित गरिनुपर्ने, चलचित्र क्षेत्रमा सिनेमा हलको ठूलो भुमिका तथा महत्व भएकोले सुरक्षित तवरले हलसम्म दर्शक तानिने वातावरण बनाउन यो क्षेत्रसँग सम्बन्धित सबैले विशेष पहल गर्न जरुरी रहेको अधिकारीको भनाइ छ ।

यस्तै राज्यले पनि चलचित्र क्षेत्र नतङ्ग्रिदासम्म सिनेमाको उत्पादन, प्रसारण, तथा वितरणमा लगाइएको कर छुट गरेर सिनेजगतलाई धरासायी हुनबाट जोगाउनुपर्ने अधिकारी बताउँछन् ।

चलचित्र वितरक प्रचन्डमान श्रेष्ठको मत भने अलिक फरक छ । कुनैपनि क्षेत्रको बजार सधै एकनास नभएर उचारचढाब हुने भन्दै उनले २०७२ को भुकम्पपछि पनि मनोरञ्जन उद्योग चाढै नै पुनस्थापित भएको बताए । संकटको बेलामा नै मानिसलाई मनोरन्जनको आवश्यकता हुने भएकोले दर्शकले सिनेमा हेर्ने तर त्यसको लागि स्तरीय चलचित्र भने बन्नुपर्ने उनको धारणा छ ।

यो कहरपछि सिनेमा हेर्ने प्रबृत्तिमा भने केही परिवर्तन आउने, सिनेमा हलसम्म पुग्ने दर्शकहरु डिजिटल माध्यमहरुमा केन्द्रित हुने हुनाले डिजिटल माध्यमको उचित नियमन तथा व्यवस्थापन हुन सकेन भने चलचित्र निर्माताहरु चरम घाटामा जाने तथा नेपाली चलचित्र क्षेत्र नै खतरामा पर्न सक्ने वितरक श्रेष्ठको मत छ ।

विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस संक्रमणले नेपालीलाई पनि डिजिटल कारोबारमा अभ्यस्त बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट तथा मोबाइल बैंकिङ कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका छन् । मोबाइल र इन्टरनेट कारोबारमा कुनै पनि प्रकारको शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यस्तो व्यवस्थाले नेपालीलाई डिजिटल कारोबारमा बानी पर्न वाध्य बनाएको छ । यही डिजिटल कारोबारमा जगमा बसेर चलचित्र प्रदर्शनसम्मलाई पनि प्रविधिमैत्री बनाउन सकिने सरोकारवालाको भनाइ छ । तर, यसका लागि पेमेन्ट गेटवे सहज हुनुपर्ने, डेटा सुरक्षाको लागि पर्याप्त पूर्वाधार बन्नु पर्ने, कुनै प्रकारको कानुनी अड्चन वा विवाद सिर्जना भएमा न्यायिक निरुपणको लागि कानुनी संरचना तयार हुनुपर्ने सरोकारवालाको भनाइ छ ।

‘पहिला चलचित्र बन्न थाले, त्यसपछि थिएटरको अवधारणा आयो होला, पछि टेलिभिजन आयो र अहिले मोबाइल आएको छ, अब चलचित्र थिएटर वा टिभीमा मात्रै होइन, मोबाइल मार्फत मान्छेका हातहातमा रिलिज हुने दिन आएका छन्, प्रविधिले दिएको यो अवसर हामीले पनि उपयोग गर्नुपर्छ, त्यसका लागि हामी तयार भएर रहनुपर्छ,’ दीपराज गिरीले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.