भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु

  २०७६ चैत ३० गते १३:१९     विकासन्युज

काठमाडौं । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको र्यापिड किट (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो ।

भक्तपुर अस्पतालमा र्यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए। यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३ सय र्यापिड किट अस्पतालका लागि पठाएपछि यहिँबाट परीक्षण शुरु गरिएको हो ।

विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तबास बसेका, निर्धारित क्वारेन्टाइनमा बसेकाको १४ र आवश्यकता पर्नेको २१ दिनसम्म रहेकाको र्यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौंको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिए । अस्पतालले अहिलेसम्म १५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको बताए ।

रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैय्यामा पुर्याएको जानकारी दिए । आज आठ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिँदै उनले आइसोलेसनमा दैनिक बिरामी बढिरहेको बताए ।

जिल्लाका निजी अस्पतालसमेत बहिरङ्ग सेवालगायत अन्य उपचारसमेत बन्द गरिरहेको अवस्थामा भक्तपुर अस्पतालले भने बहिरङ्ग सेवा र अन्य उपचार सेवासमेत सञ्चालन गरिरहेको छ । जिल्लाका चार नगरपालिकामध्ये मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ६२ जनाको पहिचान गरी उनीहरुको नमूनासङ्कलन गरेर नियमितरुपमा परीक्षण गरिरहेका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाले जनप्रतिनिधीमार्फत वडावडामा विदेशबाट फर्किएकोको खोजी र पहिचान नगरपालिका कै एम्बुलेसन्स उपलब्ध गराई भक्तपुर अस्पताल लगेर नमूना परीक्षण गराइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । यता सूर्यविनायक नगरपालिकाले पनि विदेशबाट फर्किएकाको पहिचान गर्दै नमूना सङ्कलन गर्न भक्तपुर अस्पताल पठाउँदै उनीहरुको एकान्तबासको अनुगमन गरिरहेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । भक्तपुर अस्पतालले भने मोवाइल एप्समार्फत फाराम भराएर विदेशबाट फर्किएकालाई भक्तपुर अस्पताल जान सूचना जारी गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमनसमेत शुरु गरेको छ । कार्यालयका प्रमुख कृष्ण मिजारले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, सिद्धिस्मृति अस्पताल र डा इवामुरा अस्पतालको अनुगमन गर्ने जानकारी दिए । जिल्लाको सबै अस्पतालको अनुगमन गरिने उनको भनाइ छ । जिल्लामा सञ्चालित निजी अस्पतालले बिरामी गेटबाटै फर्काउने गरेको र कुनै पनि रोगको उपचार नगरेको गुनासो व्यापक आएको छ । सरकारले उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरी उपचारको व्यबस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.