बिहीबारदेखि एनसीएचएल-इसीसी र एनसीएचएल-आईपीएसको क्लियरिङ्ग समय वृद्धि

  २०७६ चैत २६ गते १९:००     विकासन्युज


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग ( एनसीएचएल इसीसी) र अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल आईपीएस)मा बिहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ ।

सोही व्यवस्था अनुसार एनसीएचएल इसीसी को रेगुलर सेसनमा दिनको १ः३० बजेसम्म जम्मा गरिएका चेकहरु र एनसीएचएल आईपीएस मा दिनको १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । उक्त समय सीमा पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था रहेको छ ।

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म एनसीएचएल इसीसी र एनसीएचएल आईपीएस मार्फत् प्रत्येक दिन ११ः३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो ।

चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् ।
एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाईल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ ।

लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हफ्तामा क्रमश १८ अर्ब ६ करोड रुपैयाँ र ३५ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार फर्छौट गरेको छ । एनसीएचएलले हाल एनसीएचएल इसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस र एनपीआई गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत प्राय सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.