वाग्मती सरकारको आगामी बजेटको तयारीसम्बन्धी गृहकार्य शुरु

  २०७६ चैत २५ गते १७:५३     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले आगामी वर्ष ल्याउन लागिएको बजेटमा जनमुखी व्यावहारिक र कषि र उद्योगको उत्पादनलाई कार्यान्वयन गर्नेतर्फ उच्च प्राथमिकता दिने बताए ।

मन्त्री ढुङ्गेलले वाग्मती सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेटको तर्जुमा गर्न यहाँ प्रदेश नीति योजना आयोगका पदाधिकारी, अर्थविज्ञसँग बजेट तर्जुमाको लागि छलफल र बजेटको मस्यौदा तयारको लागि गृहकार्य भइरहेको जानकारी दिए ।

आगामी आर्थिक वर्षको लागि प्रस्तुत हुने बजेटमा राष्ट्रिय गौरवको आयोजनालाई प्रदेशको १३ जिल्लामा समानुपातिक ढङ्गले वितरण गर्न ऊर्जा उत्पादन, कृषि सडक खानेपानी, स्वास्थ्योपचार केन्द्रलगायत सर्वसाधारण जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजनालाई स्थलगतरुपमा सबल तुल्याउन समीक्षा गरिने पनि बताए ।

उनले सरकारले चालु आर्थिक वर्षमा ल्याइएको पूँजीगत बजेटमा कूल पूँजीगत बजेटमा १४ प्रतिशत मात्रै खर्च भएकामा कुन कुन कारणले खर्च हुन नसकेको हो भन्नेबारे समीक्षा गरिने र आगामी वर्ष सञ्चालन हुने योजनालाई कार्यान्वयनतर्फ सुदृढ तुल्याउने उपाएको अवलम्बन गरिनेतर्फ पनि विज्ञको सुझाव प्रस्तुत हुने जानकारी दिए ।

मन्त्री ढुङ्गेलले सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत चालु आवमा प्राथमिकतामा राखिएको हेटौंडाबाट–काठमाडौं सुरुङमार्गको निर्माणलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गर्नेतर्फ थप सुझाव समावेश गरिने भने । उनले प्रदेशअन्तर्गतका ११९ स्थानीय तहबाट आएका सुझाव र प्रदेशसभाका सदस्यले सिफारिस गरेका राष्ट्रिय महत्वका आयोजना र योजनालाई क्रमशः समावेश गर्नेतर्फ अध्ययन भइरहेको पनि उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.