अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ –अमेरिकी राष्ट्रपति

  २०७६ चैत २३ गते १३:००     विकासन्युज

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।

अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार जानकारी दिए ।

पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाखभन्दा बढी रहेको छ । ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए ।
स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गरेका छन् । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ ।

कार्यदलकी सदस्य डा म्यारी इ.बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताए । उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि जानकारी दिए ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ । रासस /एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.