कोरोना रोकथामका लागि म्याग्दीमा तीन करोड विनियोजन

  २०७६ चैत २१ गते १३:१०     विकासन्युज

म्याग्दी। कोरोना भाइरस रोकथामका लागि म्याग्दीमा करिब रु तीन करोड विनियोजन गरेका छन् । छ स्थानीय तह रहेको म्याग्दीमा बिहीबार मङ्गला गाउँपालिकाले विनियोजन गरेको रु ३० लाखसहित कोरोना रोकथामका लागि स्थानीय तह र अन्य निकायको बजेट रु दुई करोड ९६ लाख पुगेको हो ।

यसअघि अन्नपूर्ण गाउपालिकाले रु ७० लाख, बेनी नगरपालिका र धवलागिरि गाउँपालिकाले रु ५०/५० लाख, रघुगङ्गा गाउँपालिकाले रु ३४ लाख र मालिका गाउँपालिकाले रु २० लाख विनियोजन गरेका थिए । जिल्ला समन्वय समितिले विपन्नको खानपानको व्यवस्थापनका लागि छ स्थानीय तहलाई रु दुई–दुई लाख र बेनी अस्पताललाई औजार, उपकरण खरिद गर्न रु तीन लाख सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पताललाई आइसोलेसन व्यवस्थापन गर्न रु पाँच लाख दिएको छ ।

विनियोजन भएको रकम कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा परिचालन हुने मङ्गला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए । उनका अनुसार कोषमा अध्यक्ष सतप्रसाद रोकाले व्यक्तिगतरुपमा रु एक लाख उपलब्ध गराएका हुन् । स्थानीय तहहरुले कोरोनाविरुद्धको सचेतना फैलाउन, विदेशबाट आएकालाई राख्ने क्वारेन्टाइन बनाउन र विपन्नलाई खाद्यान्न उपलब्ध गराउने सो बजेट परिचालन गर्ने जनाएका छन् ।

मङ्गलाका विभिन्न बस्तीमा लकडाउनको कार्यान्वयन र कोरोना रोकथामका लागि सचेतना फैलाउन १६ जना स्वंसेवक कार्यदल परिचालन गरिएको छ । बाबियाचौरको मङ्गला शिक्षा क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ । पाँच वडा रहेको मङ्गला गाउँपालिकामा पछिल्लो एक महिनायता विदेशबाट आएका ३० मध्ये १५ दिन नपुगेकालाई क्वारेन्टाइनमा राखिएको थियो । बेनी अस्पतालको आइसोलेसनमा रहेका एक जनाको स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ ।

बेनी र स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५१ जना रहेको प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो । “जिल्लाभर १२५ श्ययाको क्वारेन्टाइन बनाइएको छ”, उनले भन्नुभयोे, “एक महिनायता विदेशबाट आएका ११५ जनाको लगत सङ्कलन भएकामा १५ दिन नपुगेका र शङ्कास्पदलाई क्वारेन्टाइनमा राखिएको हो ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.