सोमबारदेखि सेयर बजार बन्द, सेबोनको पक्षमा अर्थमन्त्री बोलेपछि नेप्से लत्रियो

  २०७६ चैत ९ गते २०:५८     विकासन्युज

काठमाडौं । सोमबारदेखि आगामी आइतबारसम्म सेयर बजार बन्द हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले पाँच कार्यदिन सेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे बाेर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले जानकारी दिए ।

धिताेपत्र सम्बन्धि कानुनले पाँच दिनसम्म बजार बन्द गर्न निर्देशन दिन सक्ने अधिकार धिताेपत्र बाेर्डलाइ दिएकाेले साेही अनुसार निर्णय भएकाे उनले बताए । ‘आगामी आइतबारसम्म सेयर बजार बन्द हुन्छ । त्यसपछि अवस्था हेरेर बाेर्डले निर्णय लिन्छ’ विकासन्युजसँग प्रवक्ता गिरीले भने ।

आइतबार विहानैदेखि सेयर कारोबार खुला गर्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएको थियो । नेपाल धितोपत्र बोर्डले पुँजी बजार अत्यावश्यक सेवाभित्र नपर्ने जनाउँदै कारोबार बन्द गर्न बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जलाई मौखिक निर्देशन दिएको थियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका आधारमा बजार बन्द गर्नुपर्ने धितोपत्र बोर्डको भनाई थियो ।
पुँजी बजारका अगुवा लगानीकर्ताले पनि गत विहीबार देखि नै कोरोना महामारीका कारण बजार संकटमा परेको तर्कसहित बजार बन्द गर्न माग गरेका थिए ।

तर नेप्सेले सेयर बजारलाई सधैं स्वतन्त्र छोड्नु पर्ने र सेयर किन्ने वा बेच्ने लगानीकर्ताको संबैधानिक अधिकार हनन् गर्न नहुने तर्क गर्दै बजार बन्द नगर्ने अढान लिएको थियो । २०७२ सालमा भने भूकम्प पछि पनि सेयर बजार २२ दिन बन्द गरेर खुला गरिएको थियो ।

बजार बन्द गर्न बोर्डले दिएको निर्देशनको पालना नेप्सेले नगरेपछि अर्थमन्त्रीले आईतबार धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालकहरु राखेर सहमतिको प्रयास गरेका थिए ।

बैठकमा धितोपत्र बोर्डबाट अध्यक्ष भिष्मराज ढुंगान, सञ्चालक यज्ञप्रसाद ढुंगेल, कार्यकारी निर्देशक निरज गिरी सहभागि थिए भने नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, सञ्चालक रमेश अर्याल र महाप्रबन्धक चन्द्रसिंह साउद सहभागि थिए ।

बैंठकमा अर्थमन्त्री युवराज खतिवडाले नियामक निकायले गरेको निर्णय अनुमति प्राप्त संस्थाले मान्नु पर्ने सामान्य अभ्यासको पनि परिपालना नभएको र सानोतिनो विषयमा अनावश्यक विवाद गरेको टिप्पणी गरेका थिए । २०७२ सालको भूकम्पपछि २२ दिन बजार बन्द भएको उदाहरण दिदै अर्थमन्त्रीले संकटको बजारमा बजारमा स्थायीत्व दिन नियामकले आवश्यक निर्णय लिनु पर्ने उनको भनाई थियो ।

स्रोतका अनुसार दुई पक्षीय बैठकमा अर्थमन्त्रीले सेबोनको पक्ष लिएपछि नेप्सेका पदाधिकारीहरु लत्रिएको थिए । बैंठकमा नेप्सेका पदाधिकारीले धितोपत्र बोर्डको लिखित निर्देशन आएपछि त्यसका पालना गर्ने बताएका थिए ।

स्रोतका अर्थमन्त्रालयमा भएको बैठक सकिएपछि साँझ धितोपत्र बोर्डको सञ्चालक समितिले यो साताको लागि सेयर बजार बन्द गर्ने निर्णय लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.