अस्ट्रेलिया सरकारले गर्याे ४० अर्ब डलरको राहत घोषणा

  २०७६ चैत ९ गते १३:३२     विकासन्युज

सिड्नी । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ ।

अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल एक खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताएको छ । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो ।

अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको जानकारी दिए । उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आशाको सञ्चार गराउने विश्वास व्यक्त गरे । सरकारको योजना अनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरुले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरुलाई थप ७ सय ५० अस्ट्रेलियाली डलर नगद दिइनेछ ।

अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए। कोरोनाभाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ ।

अस्ट्रेलियामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १ हजार ३ सय पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरु लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाएको छ । रासस/एएफपी