स्वदेश फर्किने विदेशी पर्यटकको घुइँचो

  २०७६ चैत ६ गते १४:५९     नबिन पाेखरेल

काठमाडौं । जर्मन नागरिक पेग्गी गेला बिहिबार काठमाडौं स्थित कतारवेजको टिकट काउण्टरमा लाइनमा व्यस्थ देखिन्थिन् । आफ्नै देश जर्मन फर्कनका लागि उनी निराश मुद्रामा एकोहोरो चिहाइरहेकी थिइन् । उनी निराश मात्र होइनन् थकित पनि उतिकै भएको उनको मुहारबाट प्रष्ट झल्किन्थ्यो । स्वदेश फर्किन पाइने होकि होइन भन्ने दोधारमा देखिन्थिन् उनी । उनी जस्तै त्यो पंक्तीमा सयौं विदेशी पर्यटकहरु पंक्तिवद्ध भएर लागेका थिए ।

ती सबैका मुहार निन्याउरा थिए । सबै आफ्नै देश फर्किने सुरसारमा थिए । तर, टिकट पाइन्छ वा पाइँदैन भन्ने उनीहरु निश्चित थिएनन् ।
विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिरहेको बेला उनीहरु त्रासमात्र होइन स्वदेश पुगेपछि जे होस् भन्ने धारणा राखे । घुम्नका लागि नेपाल आएका उनीहरु निकै त्रसित र गम्भीर देखिन्थे ।

पेग्गीले चाँडोभन्दा चाडो आफु घर फर्किन चाहेको बताइन् । ‘आजर भोलीमात्र एयरलाइन्सहरु चल्ने भनिएको छ, यहाँ यत्रो लाइन छ, टिकट पाइन्छ कि पाइँदैन, समस्यामा परेँ,’ उनले भनिन् । सबै एयरलाइन्सहरु रद्ध भएकोले आफुहरुलाई स्वदेश फर्किन समस्या पारेको उनले बताइन् । धेरै विदेशी पर्यटक नेपालमै भएयकोले उनीहरुलाई स्वदेश फर्कन गाह्रो भइरहेको उनीहरुको गुनोसो छ ।

सरकारले अन्तर्राष्ट्रिय उडानहरु रोकेसँगै उनीहरुलाई घर फर्किन समस्या भएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले विदेशी पर्यटकले सहज रुपमा जान पाउने धारणा राखे । ‘लक डाउन गरेका देशका नागरिकले देश फर्कन सक्दैनन्, तर लक डाउन नगरेका नागरिकलाई हामी पठाइरहेका छौं,’ उनले भने । नेपालमा भएका विदेशी पर्यटकका सरकारसँग समन्वय गरेर उनीहरुलाई पठाउने उनको भनाइ छ ।

सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपछि उडान रोकिन लागेको हो ।

हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ । समितिले पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ ।

त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । सरकारको निर्णयले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको छैन । अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका नेपाली राहदानीवाहकले यी मुलुक हुँदै काठमाडौं आउन सक्नेछन् ।

हाल भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्सले काठमाडौंका लागि उडान गर्दै आएका छन् भने बंगलादेशबाट विमान बंगलादेश, थाइल्यान्डबाट थाई एयर र थाई लायन एयरले उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स तथा तिनका उडानमा शनिबारदेखि कटौती हुने भएपछि २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल सञ्चालनको समय पनि हेरफेर गर्नेबारे छलफल सुरु भएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.