घट्न थाल्यो रेमिटान्स, साढे ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति

  २०७६ चैत ५ गते १५:००     विकासन्युज

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत माघ महिनामा रेमिटान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको गत माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह २८.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिटान्स आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

गत माघसम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो ।

खुद ट्रान्सफर आय १.१ प्रतिशतले कम भएर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

माघसम्ममा चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेकोचालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ ।

पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ थियो ।

शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १९ करोड ११ लाख रुपैयाँले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति

गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई २०७६ माघ मसान्तमा १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७६ माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

गत आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.७ प्रतिशत, ७०.८ प्रतिशत र २९.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.