बैंकहरूकाे ऋणपत्र र पुनर्बीमा कम्पनीको साधारण सेयरमा लगानीकाे अवसर गुमाउँदै लगानीकर्ता

  २०७६ चैत ४ गते १७:०८     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ हाउसको सफ्टवयर नचल्दा पुँजी बजारका लाखौं लगानीकर्ता पीडित भएका छन् । अनलाईनबाट सेयर किनबेच हुने meroshare.cdsc.com.np आइतबारदेखि नियमित चलेको छैन ।

सिडिएसको मेरो सेयर नचल्दा साधारण सेयर किन्ने, ऋणपत्र किन्ने, बेचेको सेयर ट्रान्सफर गर्ने कार्यहरु प्रभावित भएको लगानीकर्ता अम्बिका पुडासैनीले बताए ।

मेरो सेयर नचलेपछि लगानीकर्ताहरुबाट धेरै गुनासो आईरहेको कालिका सेक्युरिटीका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । सेयर बेचेको तीन दिनभित्र मेरो सेयरबाट ट्रान्सफर हुनैपर्छ । ट्रान्सफर ढिला भएमा धेरै जरिवाना हुन्छ ।

बजार घटेको बेलामा लगानीकर्ताहरु विभिन्न वहाना बनाएर खरिद अडरबाट भाग्न खोज्छन् । यस्तो बेलामा समयमा ट्रान्सफर भएन भने लगानीकर्ता झगडा गर्न आउँने गरेको सेयर ब्रोकर व्यवसायी बताउँछन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ऋणपत्रहरु नियमित निष्काशन भईरहेका छन् । यस्तो बेलामा सिडिएससीको मेरो सेयर नचल्दा बैंकहरुलाई पनि गाह्रो भएको छ ।

मंगलबार सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्रमा लगानी गर्ने अन्तिम मिति हो । सर्वसाधारणले आश्वा प्रणालीबाट मात्र यस्तो ऋणपत्रमा लगानी गर्न सक्छन् ।

‘मेरो सेयरबाट ऋणपत्रमा लगानी गर्न सकिएन भनेर धेरै लगानीकर्ताले फोन गर्नुभयो । तर हामीले त्यसमा केही गर्न सक्दैनौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने ।

‘बैंकको ऋण पत्र लिनुहोस्, यसमा फाइदा छ भनेर हामीले धेरै खर्च गरेर सर्वसाधारणसम्म सूचना पुर्यायौं । तर लगानीकर्ताले आवेदन गर्ने बेलामा सीडिएससीको अनलाईनले काम गरेन भन्ने सुन्दा हामीलाई दुःख लागेको छ’ पोखरेलले भने ।

लगानीकर्ताले नबिल बैंककाे ऋणपत्रमा पनि लगानी गर्न पाएका छैनन् । विभिन्न कम्पनीहरूकाे हकप्रद सेयर किन्नलाई पनि समस्या भएकाे छ ।

मंगलबारदेखि नै नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर बिक्री खुला भएको छ । तर सेयर किन्न चाहानेका प्रयास सबै बिफल भएका छन् ।

पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझिले लगानीकर्ताले अनलाईनबाट सेयर आवेदन गर्न पाइएन भन्ने गुनासो गरेको र आफूले सिडिएस एण्ड क्लियरिङका अध्यक्ष चन्द्रसिंह साउदलाई समस्याबारे जानकारी गराएको बताए ।

यस विषयमा विकासन्युजले चन्द्रसिंह साउदसँग कुरा गर्न खोज्दा बोल्न मानेनन् । सीडीएसको अफिसका कुनै पनि फोन उठेनन् भने कामू सीईओ कन्चन सापकोटासँग सम्पर्क हुन सकेन ।

नेप्से र सीडिएसको सफ्टवयर गरिद गर्दा भ्रष्टाचार भएको र कामै नलाग्ने सफ्टवयर प्रयोग गरेकोले बारम्बार समस्या आउने गरेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.