अर्थ समितिमा बीमा बहसः कोरोना विरुद्ध बीमा गरौंः सांसद, मिल्दैनः अर्थमन्त्री

  २०७६ चैत ४ गते १५:४६     नबिन पाेखरेल

काठमाडौं । केही दिनदेखि अर्थ समितिमा बीमा विधेयक माथि दफाबार छलफल चलिरहेको छ । सोही छलफलको क्रममा सांसदहरुले महामारीको बीमा गर्न आवश्यक रहेको सुझाव बीमा समितिलाई दिएका हुन् ।

सांसद पदम गिरीले कोरोना भाइरसको लागि छुट्टै बीमा पोलिसी ल्याउँने वातावरण निर्माण गर्नुपर्ने बेला भएको धारणा राखे ।

‘विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा आउँनु अगावै बीमा पोलिसी तयार गर्न आवश्यक छ, बीमा समितिकै पहलमा कोरोना भाइसरको बीमा हुने पोलिसी ल्याउँनु होस,’ सांसद गिरीले भने ।

सांसद गिरीले उठाएको प्रसंगमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले समेत पूर्ण सहमति जनाए । सभापति दाहालले बीमाको काम भनेको जोखिम धारण गर्ने भएकोले आपत विपतमा बीमा क्षेत्र जनताको सहयोगी हुनपर्ने बताए ।

‘बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिनुपर्छ, बीमाको काम भनेकै जोखिम धारण गर्ने हो, बीमा क्षेत्रले कोरोना भाइसको बीमा गर्ने तयारी गर्दा राम्रो होला,’ सभापति दाहालले भने ।

स्वस्थ्य हुँदै बीमा गर्दा हुन्छ, रोग लागेपछि हुन्नः अर्थमन्त्री

अर्थ मन्त्री डा. युवराज खतिवडाले रोग लागिसकेको अवस्थामा व्यक्तिले बीमा गराउँन नमिल्ने भएकाले रोग लाग्नुपूर्व बीमा गराउँन सबैलाई सचेत गराउँनु पर्ने बताए ।

‘रोग विरुद्ध बीमा हुन्छ, स्वस्थ्य व्यक्ति जोसुकैले पनि यस्तो बीमा गर्न सकिन्छ, तर रोग लागेपछि बीमा गराउने भन्ने हुँदैन, महामारी आउँनु अगाडी नै बीमा गर्ने हो भने त्यसले आर्थिक सुरक्षण प्रदान गर्छ, यतातिर जनचेतना बढाउन हामी सबै लाग्नुपर्छ,’ मन्त्री खतिवडाले भने ।

बीमा समितिले महामारीलाई बीमाले नसमेटने जनाउँदै आएको छ । समितिले बीमा गराइसकेको बिमितको हकमा भने पोलिसीले समेटनेसम्मको सुरक्षण दिँदै आएको जानकारी दिएको छ ।

बीमा व्यवसाय नाफा तथा सेवाको व्यवसाय भएकाले आवश्यकता अनुसार यस व्यवसायले साथ दिनसक्ने विश्वास सांसदहरुले व्यक्त गरेका छन् । अहिले विश्व स्वस्थ संगठनले स्वास्थ संकटकाल घोषणा गरेकाले स्वास्थ्य क्षेत्रमा जनचासो बढ्दो छ ।

बीमा विधेयकमाथिको छलफलमा मन्त्री डा. खतिवडासहित पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस महामन्त्री शशांक कोईरालालगायत उपस्थित थिए ।

यस्तै, बीमा समितिकातर्फबाट अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.