गभर्नर नियुक्तिमा कानुन पालना गर्न सकेन सरकारले, शिवाकोटी कामु जिम्मेवारीमा

  २०७६ चैत ३ गते ११:३६     विकासन्युज

काठमाडौं । कानुनी व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकार असफल भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुने एक महिना अगाडि नै गभर्नर नियुक्त गरिसकेर त्यससको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले नियुक्ति प्रक्रिया नै सुरु गरेको छैन ।

गभर्नर डा. चिरञ्जीबी नेपालको कार्यकाल ५ चैत (आजको २ दिनपछि) देखि सकिदैछ । नयाँ गभर्नर नियुक्तिको लागि गर्नुपर्ने कानुनी र प्रक्रियागत काम सरकारले सुरु गरेकै छैन ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ (दोस्रो संशोधन २०७३) मा बहादलवाला गभर्नरको कार्यकाल सकिन १ महिना बाँकी हुदै गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नर पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्नेछ,’ ऐनको दफा २५ मा उल्लेख गरिएको छ ।

गभर्नर नियुक्तिको लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेर गभर्नरको सिफारिस गर्नुपर्ने हुन्छ । समितिमा पूर्वगभर्नरमध्येबाट एक जना र अर्काे एक जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एक जना सदस्य हुने कानुनी व्यवस्था छ ।

तर, सरकारले समिति गठन नै गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताको कारण गत सोमबार मन्त्रिपरिषद बैठक नै बसेन । मन्त्रिपरिषद बैठक नबसेपछि समिति गठन पनि भएन । प्रधानमन्त्री गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । तर, प्रधानमन्त्री डिस्चार्ज भएपनि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन ।

सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेपनि ५ चैतदेखि सो पद रिक्त हुँदैछ । गभर्नर पद रिक्त भएपछि सरकारले बरिष्ठ डेपुटी डेपुटी गभर्नरलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ । अहिले बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारीमा चिन्तामणि शिवाकोटी छन् । त्यसैकारण कायममुकायम डेपुटी गभर्नरको जिम्मेवारी शिवाकोटीले पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.