निजी क्षेत्रप्रति पूर्व अर्थसचिवको आक्रोशः भवानी राणा, शतिश मोर र राजेशकाजीको फर्ममा छापा मारौं

  २०७६ चैत २ गते १४:२०     विकासन्युज

काठमाडौं । पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षको उद्योग प्रतिष्ठानमा नै सरकारले छापा मार्नुपर्ने बताएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुकै उद्योग, प्रतिष्ठान र फर्महरुले उपभोक्तामाथि ठगी गरेको भन्दै उनले यस्तो बताएका हुन् । पूर्व सचिव बास्कोटाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोर तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको उद्योग, प्रतिष्ठान तथा फर्महरुमा सरकारले छापा मार्नुपर्ने बताए ।

सरकारले बजार अनुगमनको क्रममा साना व्यवसायीमाथि कारबाही गर्ने गरेको भएपनि बद्मासीको स्रोत ठूला उद्योगी व्यवसायी भएको र उनीहरुमाथि कारबाही हुन नसक्दा उपभोक्ता ठगीले निरन्तरता भएको बास्कोटाको भनाइ छ ।

‘ठूला उद्योग प्रतिष्ठान र फर्महरुले नै उपभोक्ता ठगिरहेका छन्, उपभोक्ता ठगी रोक्नको लागि सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्छ, भवानी राणा, शतिश मोर र राजेशकाजी श्रेष्ठको उद्योग प्रतिष्ठान वा फर्ममाथि छापा मारेर गलत काम गर्ने कसैलाई पनि सरकारले छोड्दैन भन्ने सन्देश दिनुपर्छ,’ पूर्व अर्थसचिव बास्कोटाले भने ।

विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बास्कोटाले यस्तो बनाएका हुन् । बास्कोटा तत्कालिन बाणिज्य विभागको पूर्वमहानिर्देशक पनि हुन् । बास्कोटा राजस्व सचिव भएको बेलामा चर्चित नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) प्रकरण सार्वजनिक भएको थियो । सो प्रकणमा नेपालका अधिकांश व्यापारिक घराना संलग्न रहेको सरकारको भनाइ छ ।

सचिव बास्कोटाले सरकारी कर्मचारीले बजार अनुगमनलाई औपचारिक कार्यक्रम जस्तो बनाएको भन्दै असन्तुष्टि पनि जनाए । कर्मचारीले बजार अनुगमन गर्दा उद्योगी व्यापारीको राजनीतिक संलग्नता हेर्ने गरेका कारण कर्मचारीको विश्वसनीयत घट्दै गएको पनि बताए ।

‘कर्मचारीको विश्वसनीयता घटेको छ, अनुगमनको गतिविधि र फेला परेका तथ्यहरु पनि गोप्य राखिन्छ, कुरो मिलेपछि त्यसलाई सार्वजनिक गर्ने गरिएको छ, म यो विभागको डीजी हुँदा अनुगमनमा जाने वित्तिकै संचारमाध्यमलाई त्यसको जानकारी दिन्थेँ, एक दिनमा नै १ सय ५० वटा मासु पसलको ढक तराजु समाएर सो विषय सार्वजनिक गर्दै कारबाही गरेको थिएँ, अहिले त्यस्तो हुन छोड्यो,’ बस्कोटाले भने ।

ढकको तौल कम गर्न व्यापारीहरुले अनेक हर्कत गर्ने गरेको पनि बास्कोटाले दाबी गरे । पसलको सटर बन्द गर्दा वा खोल्दा तथा अन्य कुनै बलियो बस्तुमा हिर्काउन ढक प्रयोग गर्ने र यसो गर्दा एक केजीको ढकको तौल ९ सय ग्राम मात्रै हुने गरेको बास्कोटाले बताए ।

खाद्य बस्तुमा अखाद्य बस्तु मिसाएको प्रष्ट देखिदा पनि सरकारी निकायले कारबाही नगरेको उनको गुनासो छ । यसरी प्रष्ट देखिएको बद्मासीमा स्थलगत कारबाही हुनुपर्ने बास्कोटाको भनाइ छ ।

‘जेरीमा अखाद्य बस्तु मिसाइएको प्रष्टै देखिन्छ, अन्य बस्तुमा पनि यस्तै प्रष्ट देखिने बद्मासी हुन्छ, तर कारबाही हुदैन, यस्ता प्रष्ट देखिने बद्मासीमा ठाउँको ठाउँ कारबाही गर्न कसले र किन रोक्छ ?’ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरु, विभाका महानिर्देशकसहित उच्च सरकारी अधिकारी सहभागी भएको कार्यक्रममा बास्कोटाले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.