अर्थमन्त्री र सेयर बजारको लुकामारीः खतिवडा नै दोहोरीने भनिएपछि नेप्सेमा उच्च गिरावट

  २०७६ फागुन १९ गते १५:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो ।

मन्त्री भएको तेस्रो दिन सेयर बजारकै कारण उनको आलोचना गरिएको थियो। फागुन १७ गते बिबिसीसँगको अन्तर्वातामा उनले सेयर बजार अनुत्पादक भएको टिप्पणी गरेका थिए। खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी भएको उनको धारणा निकै आलोचित बन्यो ।

उनले त्यति मात्र भनेनन् सेयर बजारमा लहडका भरमा लगानी गर्नु हुँदैन, लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपमा बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो भन्ने धारणा राखे । यो भनाइले पुँजीबजारमा झन् नकारात्मक प्रभाव पर्यो। लगानीकर्ताहरु उनी प्रति रुष्ट मात्र भएनन् उनको राजीनामा समेत माग गरे ।

त्यसपछि अर्थमन्त्रीले सेयर बजारको बारेमा सार्वजनिक सभामा बोल्न छोडका थिए । केही साताअघि उनी अर्थमन्त्रीबाट बाहिरे हल्ला थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुन अर्थात भोली सकिँदैछ ।

तर, उनलाई अर्थमन्त्रीको रुपमा पुनः दोहोर्याउने हल्ला पनि बजारमा छ । यसले पनि सेयर बजारमा प्रभाव पारेको हुन सक्ने जानकारहरु बताउँछन् । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री नफेरिने भएपछि सेयर बजार घटेको बताउँछन् ।

केही दिन अगाडि अर्थमन्त्री हट्ने भने र बढेको सेयर बजार पुनः खतिवडा नै दोहोरिने भएपछि आज ९६.०६ अंकले सेयर बजार घटेको छ । सोमबारको सेयर कारोबार नियमित समय अगाडि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेसँगै आजको लागि सम्पूर्ण कारोबार बन्द भएको हो ।

बजार एकैदिन ९६.०६ प्रतिशतले घटेर १४९५.३० अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६.०४ प्रतिशतले घटी हो । सोमबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको थियो ।

बजार खुलेको करिब दुई घण्टाको अवधिमा ५ प्रतिशतले घटेर ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि परिसूचक अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले घटेपछि सोमबारको लागि कारोबार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ ।

सोमबारको सेयर बजार घट्नुको कारण अर्थमन्त्री यथावथ रहनु भएको जानकारहरु बताउँछन् ।  कतिपय लगानीकर्ताले मन्त्रिपरिषद् पुर्नगठन हुँदा अर्थमन्त्री परिवर्तन भएर सेयर बजारको उकालो लाग्न सक्ने कल्पना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.