बोर्डर-बोर्डरमा क्यासिनो र हिमाल-हिमालमा हिल स्टेशन बनाउँछौंं: डा.धनञ्जय रेग्मी

  २०७६ फागुन १९ गते १०:५६     विकासन्युज

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन् डा.धनञ्जय रेग्मी । माघ १४ गते बोर्डको सीईओमा नियुक्त भएका रेग्मी लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशिल छन् । सीईओ डा.रेग्मी नेपालको प्रख्यात हिमाली भु– वैज्ञानिक र हिमनदी विज्ञ हुन् । ६ वर्ष कञ्चनजंघा क्षेत्रको वातावरणीय अनुसन्धान गरेर रेग्मी सोही विषयमा सन् २००६ मा जापानको सापोरो स्थित होक्काइदो विश्वविद्यालयबाट माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल विषयमा विद्यावारिधि गरेका हुन् । उनी भौगलिक विषयका लेक्चर समेत हुन् । उनै सीइओ डा. रेग्मीसँग पर्यटन बोर्डले हाल गर्दै आएको काम कारबाही,  बोर्डको आगामी योजना तथा रणनीति र नेपाल भ्रमण वर्षकाे बारेमा विकासन्यूजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा आउनु भएको छ कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

पर्यटन बोर्डलाई बुझ्दैछु । दैनिक क्रियाकलापहरु अगाडि बढाइ रहेको छु । पहिलेका कार्यक्रमहरु हेर्दैछु । यतिखेर कोरोना भाइरसको त्रास छ । यो सँग कसरी जुध्ने भन्ने तर्फ हाम्रो ध्यान गएको छ । पर्यटन क्षेत्रको लगानीलाई कसरी सुनिश्चित गर्ने भन्नेतर्फ हामी लागि रहेका छौं ।

 शैक्षिक पृष्ठभूमिबाट आउनु भयो, पर्यटन बोर्डलाई माथि उकास्ने नयाँ रणनीति पक्कै लिएर आउनु भयो होला ?

अहिले नयाँ रणनीति भन्दा पनि कोरोनासँग लड्ने रणनीतिहरुतर्फ लाग्नु परेको अवस्था छ । अब अहिले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मार्केटिङको रणनीति भन्दा पनि आन्तरिक पर्यटन प्रचार प्रसारमा जुटेका छौं । हामीले धेरै ठाउँमा अन्तर्राष्ट्रिय उडानहरु रोकिसकेका छौं । अहिले भ्रमण वर्षको प्रचार–प्रसारका लागि अन्तर्राष्ट्रिय बजारमा जान सक्ने अवस्था छैन ।
कोरोनाको संक्रमण नरोकिएसम्म हामी अब विदेशमा प्रचार प्रसार गर्दैनौ ।

यसले हाम्रा मानिसहरुमा पनि संक्रमण फैलिन सक्ने खतरा हुन्छ । प्रचार प्रसारबाट हामीले ब्याक हुनु पर्ने अवस्था छ । हामीले अन्तर्राष्ट्रिय प्रचार प्रसारका कार्यक्रमहरु रोकि सकेका छौं । हामीले गर्न थालेका देशहरुमा तपाईहरु जम्मा नहुनुहोस् भनि सकेपछि हामीले त्यहाँ गएर भ्रमण वर्षको प्रचार प्रसार गर्नु पर्ने अवस्था रहेन । विश्व नै कोरोनाको त्रासमा रहेको बेला हामीले भ्रमण वर्ष २०२० भनेर प्रचार प्रसार गर्न सक्दैनौं ।

अब हामी आन्तरिक पर्यटन विकासमा जोड दिन्छौं । आफ्नै देशभित्र डुलौं भन्ने रणनीति अपनाइरहेका छौं । प्रत्यक्ष भेटघाट भन्दा पनि सामाजिक सञ्जाल तथा डिजिटल मिडियामार्फत हामी नेपालको पर्यटन प्रचार प्रचार तथा प्रवद्र्धनमा जोड दिन्छौं । आजको दिनमा नेपालबाट वर्षमा ८ लाख नेपाली विदेश घुम्न जान्छन् । यिनीहरुलाई बाहिर नपठाएर नेपाल भित्रै घुमाउने वातावरण हामी सिर्जना गर्छौं ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । अहिले कोरोना भाइरसको कारण स्थगित भयो भन्ने पनि सुनिएको छ । यसप्रति तपाईको धारणा के छ ?

यो संकटकालिन समयमा भ्रमण वर्ष २०२० स्थगित हुनु ठीकै हो । भ्रमण वर्ष २०२० स्थगित भयो भनेर मलाई कुनै औपचनरिक जानकारी त आएको छैन । तर, स्थगित भएपनि हामीले अब पहिले नेपालको पूर्वाधार निर्माणमा तयार हुनु पर्छ । अहिलेका कार्यक्रम केही समयको लागि स्थगित भएको मात्र हो ।

कोरोना भाइरस एक/दुई महिनापछि हराएर जान पनि सक्छ । भाइरस हो, जे पनि हुन सक्छ । ३९ हजार मानिस निको भएर घर गएका पनि छन् । यो धेरै त्रसित हुनु पर्ने अवस्था केही पनि छैन । यो भन्दा धेरै अमेरिकामा फ्लु लागेर पनि मानिसको मृत्यु भएको छ । कोरोनाले हामीलाई मात्र होइन संसारभरि नै असर गरेको छ । अहिले तत्कालै नेपालमा पर्यटकको संख्या पनि घट्छ । हाम्रो लागि यो आन्तरिक गृहकार्य गर्ने समय पनि हो । यसले यस्तो खालको असर पर्छ भन्ने पनि थाहा भइसकेको छ । त्यही अनुरुपको औषधि पनि बन्दै गएको होला । धेरै आँती हाल्नु पर्ने अवस्था पनि छैन । कुरौं के हुन्छ ।

नेपाल भ्रमण वर्ष सुरु भएको पनि दुई महिना बितिसक्यो, यतिखेरै कोरोना भाइरसको संक्रमण बढेको छ, नेपालको पर्यटन आगमनको अवस्था कस्तो छ ?

गत वर्षको जनवरीभन्दा यो वर्षको जनवरीमा २ प्रतिशतले पर्यटक आगवमन घटेको छ । तर चीनियाँ पर्यटकको कुरा गर्ने हो भने गत वर्षको भन्दा ३ प्रतिशतले बढेको छ । युरोप, एसिया, क्यानडा लगायतका देशबाट आउने पर्यटकहरु भने घटेको देखिन्छ । अष्ट्रेलिया र न्युजिल्याण्डबाट आउने पर्यटक ९ प्रतिशतले घटेको छ । यो फेरी घट्छ । न हामी बन्द गर्ने पक्षमा छौं । न भित्र पस्न दिन सक्ने अवस्थामा छौं । विमानस्थलमा नयाँ रणनीति लिएर चेकिङको व्यवस्था भइरहेको छ । हवाइजहाजको संख्या पनि घटाएका छौं ।

नेपालबाट चीनमा ५३ वटा हवाइजहाज उड्थे । अहिले जम्मा ६/७ ले मात्र उडान गरिरहेका छन् । ६/७ हवाई .जहाज एक हप्तामा घट्नु भनेको धेरै पर्यटक आगवमन घट्नु हो । यसले नेपालको पर्यटन क्षेत्रमा घाटा हुनु हो । अहिलेको काम सुरक्षित रहनु हो । पहिले जीउ ज्यान सुरक्षित राखौं, त्यसपछि भ्रमण वर्ष २०२०लाई कसरी सफल पार्न सकिन्छ भन्ने तर्फ लागौ ।
प्रचार प्रसार गर्न छोड्नु भएन । डिजिटल मिडियाको प्रयोग गरेर अन्तर्राष्ट्रिय मार्केटिङ गर्ने हो । विभिन्न देशका प्रभावशाली व्यक्तिहरुसँग मिडियाबाट जानकारी गराउने हो ।

तपाईले अब विदेशीभन्दा पनि आन्तरिक पर्यटन बजारमा प्रचार–प्रसार गर्ने भन्नु भयो, यसले नेपालको अर्थतन्त्रलाई कसरी चलायन बनाउन सकिन्छ ?

नेपालीहरु नेपाल भित्रै घुम्ने हो । त्यसपछि मात्र अर्थतन्त्र चलायमान हुन्छ । विदेशी पनि आउन डराउने, हामी पनि नघुम्यो भने अर्थतन्त्र ठप्प हुन्छ । आन्तरिक पर्यटनमा जोड दिए विभिन्न क्षेत्रको पैसा नेपाल भित्रै छरिन्छ । दुई दिन घुम्ने तीन दिन डुल्नु पर्यो । यसरी नै अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।

सरकारले जुन रुपमा भ्रमण वर्ष २०२० घोषणा गर्यो, त्यो अनुसारको भौतिक संरचना निर्माणका ध्यान दिएन भन्ने पनि छ । यसमा तपाईको धारणा के छ ?

भौतिक संरचनातर्फ सरकारले ध्यान दिइरहेको छ । अहिले हामी प्रादेशिक संरचनामा गएका छौं । प्रदेश सरकारको आफ्नै बजेट छ । त्यही हिसाबले अगाडि बढिरहेका छन् । काम गरिरहेका छन् । सबै बीच समन्वयको अवस्था छैन । प्रदेश सरकारबीच समन्यव भएर अगाडि बढ्न आवश्यक छ ।
सयौं मुर्ति शिबका बनाउन आवश्यक छैन । विभिन्न किसिमका मुर्ति आवश्यक हुन्छन् । विभिन्न ठाउँका आ–आफ्नै महत्व हुन्छन् । त्यसैले यो संकटको समय त हो । तर, नेपालका लागि आन्तरिक गृहकार्य गर्ने यो उचित समय हो । भएका संरचनालाई सुन्दरीकरण गर्ने, नयाँ संरचना बनाउने, राम्रो सेवा दिनका लागि तालिम उपलब्ध गराउने उचित समय यही हो ।

सरकारले एक सय नयाँ पर्यटकीय गन्तब्यहरु घोषणा गरेको छ । तर, ती गन्तब्यमा भौतिक संरचना त के त्यहाँ पुग्न बाटोको पनि सुविधा छैन । यो लज्जास्पद भएन र ?

भौतिक संरचना बन्नलाई समय लाग्छ । यो सय वटा गन्तव्य हो भनेर तोकि दिएको मात्र हो । त्यसमा प्रदेश सरकार बस्नु पर्यो । उनीहरुसँग पर्यटन क्षेत्रका विज्ञ हुनु पर्यो । हामी पनि सहयोग र समन्वय गरिरहेका छौं । अहिले म आइसकेपछि हामीले नयाँ रणनीतिका साथ अगाडि बढाइरहेका छौं । प्रत्येक प्रदेश सरकारसँग बसेर काम गरिहेका छौं ।म आफै प्रदेश सरकरासँग बसेर उनीहरुसँग योजना बनाउने गुरुयोजना बनाएर काम गरिरहेका छौं । हामी पनि बजेट छुट्याउँछौं । 

तपाई हिमनदि तथा हिमालको भुभाग सम्बन्धि विज्ञ पनि हो, पर्यटकलाई नेपालका हिमालहरुमा यात्रा गर्न कतिको सुरक्षित तथा सहज छ ?

मान्छेको लुटपाटबाट नेपाल सुरक्षित छ । तुलनात्मक रुपमा नेपालमा आएका पर्यटकहरु दुखित भएर फर्केका छैनन् । अर्कोतर्फ अर्को प्राकृतिक समस्यालाई हामी रोक्न सक्दैनौं । तर, आज विज्ञान अगाडि छ । हामीले कसरी सुरक्षित हुन सकिन्छ आफै सावधानी अपनाउन सकिन्छ । पूर्व जानकारी तथा सल्लाह सुझाव लिने धेरै ठाउँमा छन् । अर्को नेपालमा कहाँबाट ढुङ्गा खस्छ त्यो हामीलाई पहिलै थाहा छ । त्यस्तो ठाउँमा नोटिस राखेर पनि सावधानी अपाउन सकिन्छ । सम्भव छ भने त्यसको बैकल्पिक मार्गको प्रयोग पनि गर्न सकिन्छ ।

नेपालमा एक पर्यटक एक गाइड सम्भव छ कि छैन ?

त्यो सम्भव नै छैन । बरु एउटा समूह पर्यटक र एक गाइड सम्भव छ । एउटा कम्पनीमा १५ जना पर्यटकको समूह आयो भने त्यहाँ १५ जना नै गाइड लगाउन सम्भव छैन । गाइड बिना जान नपाउन सकिने गर्न सकिन्छ तर एक गाइड एक पर्यटक हाम्रो लागि असम्भव हो । गाइड अनिवार्य चाहिँ गर्नु पर्छ ।

पछिल्लो समय विकासले ट्रेकिङ रुटहरु विनास पार्यो भन्ने पनि सुनिन्छ, यसप्रति पर्यटन बोर्डले कतिको ध्यान दिएको छ?

नेपालको विकास सुनियोजित छैन । योजनाबद्ध रुपले विकासका काम गर्ने परिपाटी नै छैन । अन्नपूर्ण, मनास्लुका पदमार्ग बनाइयो तर पछि बाटाहरु बनाएर त्यसलाई बिगार्यो । सबै ठाउँमा यो समस्या छ । सरकारले बाटो कहाँ लिने भन्ने पनि स्पष्ट नीति बनाउन आवश्यक छ । पदमार्ग कहाँ बनाउन सकिन्छ त्यो पनि स्पष्ट बताउनु पर्छ । त्यो भयो भने पदमार्गमा गरेको लगानी पछि ठूलो बाटोले सखाप पार्दैन । हाम्रो लक्ष्य स्पष्ट हुनु पर्छ । सरकारसँग बसेर सल्लाह गर्नुपर्छ ।

सरकारले धेरै पर्यटकीय गन्तब्यहरु घोषणा गर्छ तर पर्यटकहरु अन्नपूर्ण, मनास्लु र सगरमाथामा मात्र सिमित हुन्छन् । यो अवस्था किन ?

पर्यटकहरु जहाँ गाइड भयो त्यहीँ जान्छन् । जहाँ बढी लगानी हुन्छ त्यहीँ पर्यटक बढ्ने हो । सुदूर–कर्णलीमा पदमार्ग बनाउने तर त्यहाँ गाइड र भौतिक संरचना नभएपछि त्यहाँ पर्यटक कसरी जान्छन् ?पदमार्गहरु दिगो हुने खालको हुनु पर्छ । त्यो गर्यो भने त्यतैका गाइडहरु बनाउनु पर्यो । पर्यटकीय स्थलकै गाइडलाई तालिम दिनु पर्यो ।

विनास भइसकेका रुटहरुको विकल्प खोज्ने र नयाँ रुटहरु स्थापना तथा निर्माण गर्न तर्फ तपाईहरुको ध्यान कत्तिको गएको छ ?

हामी यो काम गरिरहेका छौं । स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । उनीहरुको समन्वयमा उनीहरुले कस्तो प्रदेश चाहेका हुन् त्यही अनुसारको सहयोग पनि गर्छौं । हामीले पर्यटकका लागि कुनै काम नै गरेका छैनौं । हामीले विमानस्थलबाट आएकालाई मात्र पर्यटक मानेका छौं । सबै पर्यटकलाई समान व्यवहार गर्नु पर्छ । हामीले भारतबाट आउने लाई पर्यटक नै मानेका छैनौं । हाम्रो अर्थतन्त्रमा कुनले बढी सहयोग पुर्याएको छ त्यसमा बढी प्राथमिकता दिऊँ । हामीले सबैभन्दा बढी भारतीय र चीनियाँ पर्यटकलाई बढी फोकस गर्ने हो । २० लाख नेपालका लागि टार्गेट नै केही होइन ।

अहिले कोरोनाले बढी असर पारेको छ । हाम्रो दक्षिण बोर्डर मै २४ करोड मानिस बस्छन् । तिनीहरुलाई बढी प्राथमिकता गरेपनि हामी लक्ष्य भेटाउन सक्छौं । उत्तरमा बस्ने पनि जनसंख्याा त्यस्तै छ । तिनीहरुले खर्च गर्ने ठाउँ त दिनु पर्यो । हामीले केही बनाएका छैनौ. । कहाँबाट पर्यटक आउँछन् ?

अब तपाई आफ्नो कार्यकालमा यो अवस्थालाई कसरी सुधार गर्नुहुन्छ त, के कस्ता योजना बनाउँदै हुनुहुन्छ ?

म यता बसेर पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो । प्रदेश सरकारको बढी लगानी पर्यटनतर्फ जाओस् भन्ने मेरो चाहना हो । एक हजार मिटर माथिका पहाड तथा हिमालहरुमा सकेसम्म हिल स्टेशन बनाउने तर्फ ध्यान दिन्छु । भारत तर्फको बाेर्डर बोर्डरमा क्यासिनो राख्ने मेरो योजना छ । २० लाख पर्यटक भित्र्याउन गाह्रो पनि छैन । वानवे ट्रेकिङ रुट बनाउँछौं । वानवे बनायो भने रुटमा हुने मान्छेको भिड पनि कम हुन्छ । एक ठाउँबाट गयो भने अर्को ठाउँबाट फर्किने सुविधा हुन्छ ।

मेरो कार्यकाल जम्मा चार वर्षको हो । यो चार वर्षमा मैले बाटो देखाउने काम मात्र हो । मैले गुरुयोजना तयार पार्छु । त्यही अनुसार अगाडि बढ्छौं । मेरो फोकस सातै प्रदेशको गुरुयोजना बनाउने हुन्छ । मेरो नेपाल कस्तो हुनुपर्छ भन्ने बाटोचाहिँ म देखाउन सक्छु । यसका लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छु ।

अन्तिममा, तपाईले सीईओ नहुनु भन्दा अगाडि देखेको पर्यटन बोर्ड र सीईओ भएर आइसकेपछिको पर्यटन बोर्डमा कतिको फरक पाउनु भयो ?

बाहिर हुदाँ पनि यस्तै छ भन्ने बुझेकै थिएँ । किनकि केही भएकै थिएन । विदेश डुल्ने र खाने भएको थियो । तर, मैले अहिले त्यो प्रवृति परिवर्तन गरी सकेँ । धेरै मेला महोत्सवमा जाने प्रवृति रोकि सकेँ । मैले धेरै भन्दा धेरै नेपालको गुरुयोजना बनाएर अगाडि बढ्ने हो । मेरो कार्यकाय यसरी नै बित्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.