समाधान उन्मुख नेकपा विवादः राष्ट्रियसभामा बामदेव, युवराज मन्त्री नै रहने

  २०७६ फागुन १६ गते ९:२१     विकासन्युज

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अडान जोगिने र सचिवालयको निर्णय पनि कार्यान्वयन गर्ने गरी विकल्प निकाल्न नेताहरु सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषदले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई नै सिफारिस गर्ने तयारी छ । गौतमलाई राष्ट्रियसभा सांसद सिफारिस गर्न सरकारलाई सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आफूलाई घेर्ने योजनासहित गौतमलाई राष्ट्रियसभामा लान सिफारिस गर्ने निर्णय सचिवालयले गरेको भन्दै सो निर्णय आफूले कार्यान्वयन नगर्ने अडान लिएका थिए । राष्ट्रियसभामा रिक्त रहेको पदमा मन्त्रिपरिषदले गर्ने निर्णय सरकारको अधिकार भएको भन्दै सचिवालयको निर्णय मान्न आफू वाध्य नहुने तर्क अघि सारेका थिए ।

प्रधानमन्त्री ओली आफू विरुद्ध षडयन्त्र भएको भन्दै राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ति गर्ने अडानमा थिए । सचिवालयको निर्णय एउटा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली अर्काे अडानमा रहदा नेकपामा समस्या उत्पन्न भएको थियो ।

नेकपाका दोस्रो तहका नेताहरुले शिर्ष नेतृत्वबीच देखिएको टकरावको अवस्था साम्य पार्न नयाँ विकल्प अघि सारेको नेकपा स्रोतले बतायो । संविधानले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने अवसर प्रदान गरेकोले सांसद नभए पनि डा. खतिवडालाई मन्त्री बनाइराख्न खोजिएको हो ।

‘बामदेव कमरेडलाई राष्ट्रियसभामा लाने र युवराजजीलाई मन्त्री नै राखिराख्न सचिवालयले विरोध नगर्ने गरी विकल्प सुझाएका छौं, सचिवालयका अधिकांश नेताहरु यो विषयमा सहमत देखिनु भएको छ, यसो गर्दा कसैले पनि हारेको वा जितेको महसुस गर्नु परेन, पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने गरी नेताहरुलाई जुँगाको लडाईं नलड्न सुझाएका छौं,’ नेकपाको दोस्रो तहका एक नेताले भने ।

यस्तै, राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट सांसद बनेका एक व्यक्तिको मृत्यू भएको कारण सो स्थान खाली छ । रिक्त रहेको स्थानमा पछि डा. खतिवडालाई सांसद बनाएर ल्याउन सकिने सुझाव नेकपा दोस्रो तहका नेताहरुको छ ।

‘प्रधानमन्त्रीलाई युवराजजी नै चाहिने हो भने पनि विकल्प छ, राष्ट्रियसभामा रिक्त रहेको एक पदमा उहाँलाई उम्मेदवार बनाएर ल्याउन सकिन्छ, बामदेव कमरेडलाई अहिले राष्ट्रियसभामा ल्याउने र रिक्त स्थानमा युवराजजीलाई ल्याउन सचिवालयले निर्णय गर्नु उचित हुन्छ भनेर सुझाएका छौं,’ ती नेताले भने ।

डा. खतिवडालाई अर्थमन्त्रालय नै दिने कि अर्काे कुनै मन्त्रालय दिने भन्ने विषयमा भने उनले प्रधानमन्त्रीलाई नै रोज्न दिनुपर्ने बताए । मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीको भएकोले उपयुक्त मन्त्रालयको जिम्मा उपयुक्त व्यक्तिलाई दिन प्रधानमन्त्री स्वतन्त्र रहेको उनको भनाइ छ ।

यता राष्ट्रियसभामा सांसद बनाएपछि गौतमलाई उपप्रधानमन्त्री बनाउन लागिएको छ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणको लागि चाढै नै अमेरिका जाने र ३ देखि ४ महिना आराम गर्नुपर्ने भएकोले कार्यवाहक प्रधानमन्त्री बनाउन गौतमलाई उपप्रधानमन्त्री बनाउन लागिएको हो ।

उपप्रधानमन्त्री इश्वर पोखलेलको काम सन्तोषजनक नभएको भन्दै प्रश्न उठेपछि पोखरेलभन्दा बरिष्ठ उपप्रधानमन्त्री बनाएर गौतमलाई ल्याउने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पनि गौतमलाई कार्यबाहक प्रधानमन्त्री बनाउनु पर्ने लविङमा रहेकी दाबी स्रोतहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.