घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायाे आकर्षक योजना

  २०७६ माघ २३ गते १३:२४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो ।

ग्राहकका लागि सुविधायुक्त विशेषताहरु रहेको यस नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मुल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

कर्जाको भुक्तानी अवधि ३५ बर्षसम्म रहने यस कर्जा योजनामा ३ वर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामाग्री, हार्डवेयर सामाग्री, फर्निचर लगायतका सामाग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ ।

आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने मेगा बैंकले जनाएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० वर्षसम्म हुने यस योजनामा उल्लेख छ । अन्य आकर्षक सुविधाहरु समेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.