कर्जा लगानीमा आक्रामक बन्दै इन्भेष्टमेन्ट बैंक, ९.९९ प्रतिशत व्याजमा एसएमई कर्जा

  २०७६ माघ २० गते १८:२२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक कर्जा लगानीमा आक्रामक बन्दै गएको छ । रिकरिङ फिक्स्ड डिपोजिट र ग्रीन डबल फिक्स्ड डिपोजिट योजना सञ्चालनमा ल्याइसकेको बैंकले साना तथा मझौला उद्यमी (एसएमई) कर्जा योजना ल्याएको छ ।

बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यले एक वर्षका लागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको एसएमई कर्जा ल्याएको हो । स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पुर्याउने एसएमई कर्जाको उद्देश्य रहेको बैंकले जनाएको छ ।

यसका साथै बैंकले एक वर्षका लागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशील कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना पनि बैंकले अघि सारेको छ । बैंकले देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै उक्त योजना बजारमा ल्याएको हो ।

यसअघि बैंकले ९.२५ प्रतिशत ब्याजदर सहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको थियो । जसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाइरहेका छन् ।

यस बाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा बैंकले हरित पहल अभियान अन्तर्गत ग्रीन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिने बैंकले बताएको । सो योजनाअन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ । यो योजना अन्तर्गत संकलन गरिएको निक्षेप इको-लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षका लागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.