एनसेललाई पुँजीगत लाभकर नबुझाउँदासम्म थप फ्रिक्वेन्सी नदिन संसदीय समितिको निर्देशन

  २०७६ माघ १९ गते १३:१९     विकासन्युज

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेललाई थप फ्रिक्वेन्सी नदिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले १८०० व्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी दिन लागेको थियो । एनसेलको सेयर खरिद विक्री प्रक्रियामा सरकारलाई बुझाउनु पर्ने पुँजीगत लाभकर बाँकी रहेको कारण समितिले यस्तो निर्देशन दिएको हो ।

आज (१९ माघ) बसेको समितिको बैठकले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेपछि मात्रै एनसेललाई सो फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । प्राधिकरणले नयाँ फ्रिक्वेन्सी दिने प्रक्रिया अगाडि बढाइरहेको समयमा समितिको यस्तो निर्देशन आएको हो ।

प्राधिकरणले एनसेललाई नयाँ फ्रिक्वेन्सी दिनको लागि कर प्रशासनसँग आवश्यक समन्वय पनि गरिसकेको छ । केही दिन अगाडि मात्रै प्राधिकरणले ठूला करदाता कार्यालयमा पत्राचार गर्दै एनसेलले तिर्नु बुझाउनु पर्ने कर तिरेनदिएको जानकारी मागेको थियो ।

प्राधिकरणले मागेको जानकारीमा ठूला करदाता कार्यालयले किस्ताबन्दीमा कर तिर्ने सुविधा माग गरेको र सोही अनुसार किस्ताबन्दी रुपमा कर तिरिरहेको विवरण सहितको जानकारी प्राधिकरणलाई गराएको थियो ।

एनसेलले पुँजीगत लाभकर वापत बुझाउनु पर्ने कुल २२ अर्ब ४४ करोड ९७ लाख ९५५ रुपैयाँ ५ पैसाबाट हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । उसले बुझाउन बाँकी रहेको १८ अर्ब १८ करोड रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यसम्ममा किस्तामा बुझाउन माग गर्दै ठूला करदाता कार्यालयमा निवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.