जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने

  २०७६ माघ १६ गते १८:००     विकासन्युज

काठमाडौं । जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ । विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै उक्त अभियान शुरु हुन लागेको हो ।

उक्त अभियानको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट सीइओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ ।

कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए ।

त्यसैगरी, आइएमई डिजिटल सोलुसनका सीईओ विकास कुमार नाहाटाले मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.