बल्ने ढुङ्गाको आशले गुमेको त्यो ५० लाख रुपैयाँ, जुन रुपैयाँले ६ जनालाई प्रहरी खोरमा पुर्यायो

  २०७६ माघ १२ गते १६:४९     विकासन्युज

काठमाडाैं । गत बिहिबार एउटा समूहले काठमाडौं महानगरपालिका वडा न. १५ भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरूङलाई अनेकन प्रलोभन देखाएर उनीबाट ५० लाख रुपैयाँ लुटे । लुटपाटमा संलग्न मध्येका एक हुन् भीमबहादुर घर्तीमगर ।

उनले गुरुङलाई ‘मेरो बाजेसँग बल्ने ढुङ्गा छ’ भन्दै प्रलोभनमा पारे ।  त्यही प्रलोभनमा परेर गुरुङले पनि ५० लाख रुपैयाँ ल्याएर त्यहीँ पुगे । उनको हातमा त्यो पैसा देख्ने बित्तिकै उनीहरुले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरी त्यहाँबाट भागे ।

गुरूङले उनीहरु विरुद्ध उजुरी गरेसँगै लुटपाटमा संलग्न ६ जनाको समूहलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा न. ५, गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगया गाउँपालिका–२ खड्कुका ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र सोही ठाउँका २८ वर्षीय सञ्जित वाईबा रहेका छन्।

महानगरीय अपराध अनुसन्धान टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले लुटेराहरूले काठमाडौं उपत्यकाभित्र अलौकिक वस्तुहरू बल्ने ढुङ्गा, वन झाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक सामान आफूसँग छ भनेर खरिदका लागि एकान्तमा बोलाई मिलेर लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए ।

सिंहले लुटपाटमा संलग्नहरूलाई उपत्यकाको विभिन्न स्थानदेखि पक्राउ गरिएको बताए । लुटपाटमा संलग्नमध्येका मगरले गुरूङले उक्त रकम आफ्नै घर बैंकमा धरौटी राखेर लगेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सञ्जितको साथबाट २३ हजार ५ o रूपैयाँ, तेञ्जिङको साथबाट ५ लाख ८० हजार रूपैयाँ, भीमबहादुरको साथबाट ३ लाख ५ हजार रूपैयाँ, नकुरको साथबाट ४ लाख ३१ हजार रूपैयाँ, कुमारको साथबाट २ लाख २ हजार रूपैयाँ र दावाछिरिङको साथबाट ३ लाख ३१ हजार रूपैयाँ बरामद गरिएको छ।

लुटपाटपछि पाएको ५ लाखमध्ये सञ्जितले २ लाख ११ हजार सानिमा विकास बैंकमा बचत गरेको, ७७ हजारमा सुनको औंठी बनाएको, ओप्पो मोबाइल १९ हजारमा खरिद गरेको र घर बनाएको ऋण तिर्न दिदीलाई १ लाख रूपैयाँ पठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।

भीमबहादुरले भने लुटपाटपछि पाएको ७ लाखमध्ये लु ५९ प २१३५ न. को २२० सिसीको पल्सर मोटरसाइकल ३ लाख ३० हजार रूपैयाँमा किनेको र नगरकोटमा एकरात बसी होटलमा खर्च गरेको पाइएको छ।

दावाछिरिङले भने पाएको ५ लाखमध्ये १ लाख ५० हजार रूपैयाँ ऋण तिरेको, कुमारले पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार रूपैयाँ घरभाडा तिरेको, १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको र नकुरले भने पाएको ५ लाखमध्ये ३० हजार फाइनान्समा किस्ता तिरेको र अन्य खाएर मासेको सिंहले बताए।

उनीहरूबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँ, लुटपाटमा प्रयोग गरिएका ३ थान मोटरसाइकल, लुटिएको पैसाले किनेको १ थान मोटरसाइकल, लुटिएकै पैसाले किनेको सुनको औंठी १ थान, नागरिकता, मोबाइल, खुकुरी, फोल्डिङ हुने रड पनि बरामद गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.